सुनसरी । इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन प्रकृयाको विरोधमा अभिभावकहरुले विरोध जनाउँदै उपमहानगरपालिकामा धर्ना दिएका छन् ।

आज(सोमबार) बिहान इटहरी उपमानगरपालिकाको गेट अगाडी धर्ना दिँदै अभिभावकहरुले प्रर्दशन गरेका हुन् ।

व्यवस्थापन समिति चयन अभिभावक भेलाबाट गर्नुपर्नेमा नगर शिक्षा समितिले बाहिरबाट व्यक्तिलाई छनौट गरेको उनीहरुले आरोप लगाएका छन् । प्ले कार्ड बोकेर उनीहरुले उपमहानगरपालिको गेटमा उभिएर विरोध प्रर्दशन गरेका हुन ।  

केही दिन अघि उपमहानगरको नगर शिक्षा समितिले दुई कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको थियो । 

सोही कार्यको विरोधमा अभिभावकहरु विरोधमा उत्रिएका हुन । उनीहरुले गलत प्रकृयाबाट चयन गरिएको विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने साथै अभिभावकको भेलाबाटै नयाँ समिति चयन गर्नुपर्ने माग राखेका छन् । 


भाग खाँदैनौ : एमाले 

यता, नेकपा एमाले नगर कमिटिले विद्यालय व्यवस्थापन समितिको भागबन्डा नलिने घोषणा गरेको छ । विद्यालयको व्यवस्थापन समिति चयन प्रकृयामा असन्तुष्टि जनाउँदै नेकपा एमाले इटहरी उपमहानगर कमिटिका अध्यक्ष रुपेश बस्नेतले विद्यालयमा राजनितिक हस्तक्षेप बढेको भन्दै आफुहरु कुनै राजनैतिक भागबन्डा नलिने बताएका हुन । 

आइतबार एक विज्ञप्ती जारी गर्दै नगर अध्यक्ष बस्नेतले अलोकतान्त्रिक र अवैधानिक कदमले शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप बढाएको बताएका छन् । उनले विज्ञप्ती मार्फत विद्यालयमा हालसम्म भएका त्रुटि र प्रक्रिया सच्याएर अभिभावक भेला मार्फत नयाँ समिति चयन गर्न माग गरेका छन् ।

विगतमा दुई कार्यकाल अध्यक्ष भएका व्यक्तिलाई नै पटक पटक अध्यक्ष बनाउनु गलत भएको एमालेले भनेको छ । 


cpuml itahari