सुनसरी । नेपाल बसोबास बस्ती संरक्षण समाज ले ५ बुँदे माग अघि सार्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सरकारले सुकुम्बासी बस्तीहरूमा चलाएको डोजर अभियानको विरोधमा समाजले सशक्त आन्दोलन सुरु गर्ने जनाएको हो।
समाजले माग पूरा गराउन दुई चरणको आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। पहिलो चरणमा सरकारको उठिबास अभियानविरुद्ध भेला, प्रदर्शन, राजनीतिक दलहरूसँग अन्तरक्रिया, ज्ञापनपत्र बुझाउने तथा शान्तिपूर्ण प्रतिकारका कार्यक्रम तय गरिएको छ।
समाजका अध्यक्ष कुमार कार्की द्वारा हस्ताक्षरित विज्ञप्तिमा पहिलो चरणबाट माग सम्बोधन नभए दोस्रो चरणमा सुकुम्बासी मुक्तिको अन्तिम घोषणासहित अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
समाजले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा कुनै विकल्प र पर्याप्त छानबिन बिना नै अमानवीय ढंगले घरहरू भत्काइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। यस कदमका कारण ५० वर्षभन्दा पुरानो इतिहास बोकेका बस्तीहरू उजाडिएको, अर्बौँको भौतिक क्षति भएको र कतिपयले ज्यानसमेत गुमाएको दाबी समाजले गरेको छ। यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समाजको ठहर छ।
समाजले अघि सारेका ५ बुँदे मागमध्ये मुख्य रूपमा बिना विकल्प उठिबास गरिएका संरचनाको उचित मूल्याङ्कन गरी तत्काल क्षतिपूर्तिसहित पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ। साथै जोखिमयुक्त भनिएका क्षेत्रको निष्पक्ष छानबिन, ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, सुकुम्बासी मापनको स्पष्ट आधार तय गरी भूमि स्वामित्वको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ।
यस्तै, एक वर्षभित्र देशलाई सुकुम्बासीमुक्त घोषणा गर्ने कार्ययोजना ल्याउन तथा संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयनका लागि स्पष्ट कानुनी मापदण्ड बनाउन पनि समाजले सरकारसँग आग्रह गरेको छ।

















