सनुसरी। बालेन्द्र सरकारले काठमाण्डौका खोला किनारमा रहेका सुकुम्वासी बस्ती भत्काएको विरोधमा सुनसरीको धरानमा विरोध प्रदर्शन भएको छ । धरानको छाता चोकमा भेला भएर सुकुम्वासीहरूले धरान बजार परिक्रमा गरेका थिए ।


नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको ज्यादतीको विरोध गरेका छन् । सुकुम्वासीको उचित बसोबासको व्यवस्था नगरी उनीहरूको बस्दै आएको ठाउँमा डोजर चलाएको भन्दै सुकुम्वासीले सरकारी दमनको विरोध गरे । उनीहरूले संविधानमा नै आवासको हक भएकाले सरकारले सुकुम्वासीको बसोबासको ग्यारेन्टी गर्नु पर्ने बताए ।

 

नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय  अध्यक्ष कुमार कार्कीले सरकारी दमनको विरोध गरे । उनले सरकारले सुकुम्वासीको बस्तीमा सरकारले डोजर चलाएर राज्य आतङ्क मच्चाएको बताए । उनले भने, सरकारले सुकुम्वासी माथि अमानवीय ढङ्गले व्यवहार गरेको छ । मानव अधिकारको उलङ्घन गरेको छ । यस्तो सरकार हामीलाई चाहिएको छैन । 


धरानमा भएको प्रदर्शनमा हजारौँ सकुम्बासीको सहभागिता रहेको छ । प्रदर्शनमा धरानमा क्रियाशील राजनीतिक दलको समेत सहभागिता रहेको थियो । हिजो भएको अन्तरक्रिया कार्यक्रममा  श्रम सस्कृती पार्टी सहितका राजनीतिक दलहरूले प्रदर्शनमा सहभागिता जनाउने ऐक्यबद्धता जनाएका थिए । 


धरानमा वडा नम्बर १ को खहरे कोरिडोर, वडा नम्बर ३, ५ नम्बरको देउराली, वडा नम्बर ११ को मङ्गलवारे सगरमाथा टोल १३ को राई टोल अनाम टोल १५ को सर्दु किनार, नीराजन बस्तीमा  सुकुम्वासीहरूको बसोबास रहेको छ । यस्तै धरान  १६ मा सुनौलो बस्ती ,नौला बस्ती १७ मा डाँडा घोपाको पश्चिम क्षेत्रमा समेत सुकुम्वासीहरूको बसोबास रहेको छ ।

sukumbasi  (2)

sukumbasi  (1)