विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको ’वमन लिडरसिप समिट २०२६’ (महिला नेतृत्व सम्मेलन) आयोजना गर्ने भएको छ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो।
पत्रकार सम्मेलन गर्दै सम्मेलनको संयोजन सीएनआई वमन लिडरसिप फोरम काठमाडौँ र सीएनआई कोशी प्रदेशको महिला उद्यम समितिले सम्मेलनलाई भव्य बनाउने जनाएको छ।
दिगो समृद्धितर्फस् कृषि, सीप, सृजनशीलता र डिजिटल नवप्रवर्तनको मुख्य नारा सहित यस सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
आर्थिक, औद्योगिक, बैङ्किङ, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। सम्मेलनमा विशेष गरी महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि, सीप र उद्यमशीलता प्रवर्द्धनका विषयमा गहन छलफल हुने सिएनआई महिला उद्यम समितिकी संयोजक रचना राठीले जानकारी दिइन्।
सफल महिला उद्यमीहरूको प्रेरणादायी सफलताका कथाहरू, डिजिटल नवप्रवर्तन (फोनपे लगायत) सम्बन्धी छलफल र स्वदेशी वस्तुहरूको प्रदर्शनी रहने पत्रकार सम्मेलनमामा जानकारी दिइएको थियो। पत्रकार सम्मेलनमा उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबिचको नेटवर्किङलाई पनि विशेष महत्त्व दिइने वुमन लिडरसिप समिट कोशीकी संयोजक गिरिजा सारडाले बताइन्।
समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने उद्देश्य राखिएको यस कार्यक्रमले कोशी प्रदेश र देशभरका महिला उद्यमीहरूलाई एउटै थलोमा ल्याई नयाँ सम्भावनाहरूको खोजी गर्ने विश्वास आयोजकले लिएको छ।















