सुनसरी । सुनसरीको धरानमा पहिलोपटक नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुल्ला एक्युरेसी प्रतियोगिता आयोजना हुने भएको छ । 

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

 प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । एक्युरेसी ओभर अलतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यस्तै, एक्युरेसी टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । एक्युरेसी नेशनल पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

महिलातर्फ पनि विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको टेकअफ धरान–४ स्थित  छोटी मोरङबाट गरिनेछ भने ल्याण्डिङ सेउती करिडोरमा हुनेछ । 

प्रतियोगितामा नेपाल सहित भारत, चीन, मलेसिया र श्रीलंका लगायत देशका करिब ६० खेलाडीको सहभागिता रहने जनाइएको छ ।।