सुनसरी — इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बैशाख १५ देखी २१ गतेसम्म आयोजना हुने भएको छ।
प्रतियोगिता सम्बन्धी जानकारी आयोजकले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
आयोजक आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क (डिएमपीएम) मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिता २०/२० ओभरको नकआउट आधारमा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार खेलाइनेछ।
प्रतियोगितामा कुल १२ वटा टिम सहभागी हुनेछन् भने जम्मा ११ खेल सञ्चालन हुने जनाइएको छ।
सहभागी टोलीहरूमा इटहरी उपमहानगरपालिकाका तीन टिम (रातो, निलो र हरियो) सहित धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, मेचीनगर नगरपालिका (झापा), दुहबी नगरपालिका, त्रियुगा नगरपालिका (उदयपुर), बराहक्षेत्र नगरपालिका (सुनसरी), कटहरी गाउँपालिका (मोरङ) र सुनवर्षी नगरपालिका (मोरङ) रहेका छन्।
प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
यसैगरी ‘प्लेयर अफ द सिरिज’ लाई नगद ७ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ४ हजार रुपैयाँ प्रदान गरिनेछ।
‘म्यान अफ द म्याच’ लाई प्रत्येक खेलमा नगद १५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट संघको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो।
















