सुनसरी — बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन कोशी प्रदेश सरकारले डिजिटल प्रणालीको कार्यान्वयन सुरु गरेको छ। इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

सोमबार आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रणाली उद्घाटन गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताए।

उनले परम्परागत ढंगले लाइनमा बसेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्दै अब नागरिकलाई सहज र पारदर्शी सेवा दिने दिशामा प्रदेश सरकार अघि बढेको उल्लेख गरे।

कार्यालयका अनुसार सवारी सम्बन्धी राजस्व तथा अन्य शुल्क अब अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ।

यसले सेवाग्राहीलाई बैंक धाउनुपर्ने झन्झट हटाउनुका साथै समय र श्रम दुवैको बचत गर्ने विश्वास गरिएको छ।IMG_6561 1

त्यस्तै, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा लिने कार्यलयमा टोकन प्रणाली लागू गरिएसँगै सेवाग्राहीले आफ्नो पालोअनुसार व्यवस्थित रूपमा सेवा लिन सक्नेछन्।

मन्त्रालयले यो प्रणाली कोशी प्रदेशमै पहिलो पटक इटहरीबाट सुरु गरिएको जनाएको छ।

सफल कार्यान्वयनपछि प्रदेशका अन्य जिल्लामा रहेका यातायात कार्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको छ।

दैनिक सयौँको संख्यामा सेवाग्राही आउने उक्त कार्यालयमा विगतमा लामो लाइन, अव्यवस्था र समय व्यवस्थापनको समस्या देखिँदै आएको थियो।

नयाँ प्रणाली लागू भएसँगै भीडभाड नियन्त्रण हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ।

कार्यालय प्रमुखले भने, “डिजिटल प्रणालीले सेवा लिने प्रक्रियालाई सरल बनाउनुका साथै बिचौलियाको प्रभाव घटाउनेछ। सेवाग्राहीले अब आफ्नो समय अनुसार योजना बनाएर सेवा लिन सक्ने वातावरण तयार भएको छ।”

यस पहललाई प्रदेश सरकारको डिजिटल रूपान्तरण अभियानअन्तर्गतको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यो प्रणालीले आगामी दिनमा सेवाग्राहीको अनुभवमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।