सुनसरी — १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ।
इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा गछिया युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरिसकेको थियो।
प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारु नायक बने।

उनले ह्याट्रिकसहित व्यक्तिगत ४ गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए।

यस्तै रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल थपे।

IMG_6483

खेलको चौथो मिनेटमै रोमन भुजेलले कर्णरबाट सिधै गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा कप्तान फागुराम थारुले गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यसको चार मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को आरामदायी अवस्थामा पुर्‍याए।
दोस्रो हाफको सुरुआती मिनेटमै सातदोबाटोका सकल रेग्मीले एक गोल फर्काए पनि त्यसले खेलको दिशा बदल्न सकेन।

दोस्रो हाफको १९औं मिनेटमा फागुरामले ह्याट्रिक पूरा गरे भने त्यसको चार मिनेटपछि पुनः गोल गर्दै व्यक्तिगत चौथो गोल गरे। दोस्रो हाफको खेलको ३३औं मिनेटमा प्रतापसिंह राईले गोल थपेपछि प्लानिङ ब्वाइजले ६–१ को शानदार जित निकालेको हो।
उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु प्लेयर अफ द म्याच घोषित भए।

उनलाई जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले नगद १० हजार रुपैयाँ प्रदान गरे।
राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।