विराटनगर। विराटनगर महानगरपालिकास्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि लिएको नयाँ भर्नाको प्रवेश परीक्षाको नतिजा प्रकाशन स्थगित गरेको छ। विद्यालयले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि परीक्षाफल रोकिएको जनाएको हो।
विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाको मिति चैत ३० को पत्राचार र निर्देशनअनुसार नतिजा स्थगित गरिएको विद्यालय प्रशासनले स्पष्ट पारेको छ। विद्यालयले यही चैत २८ गते नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा सञ्चालन गरेको थियो।
विद्यालयद्वारा जारी सूचनामा भनिएको छ, `महानगरपालिकाको निर्देशनअनुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षाफल स्थगित गरिएको छ। परीक्षाफलका लागि विद्यार्थी तथा अभिभावकहरूले विद्यालयको आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्नुहुन अनुरोध गर्दछौँ।´
निर्धारित समयमा नतिजा सार्वजनिक हुन नसक्दा विद्यार्थी र अभिभावकहरूमा पर्न गएको असुविधाप्रति विद्यालयले क्षमासमेत मागेको छ। विराटनगरको प्रतिष्ठित सरकारी विद्यालयका रूपमा चिनिने पोखरियामा भर्ना हुनका लागि हरेक वर्ष ठूलो संख्यामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने गर्दछन्। यस बर्ष मात्रै २२ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए।