विराटनगर । बचतकर्ताको रकम हिना मिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचत कर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो । सहकारीका सञ्चालकले बचतकर्ताको रकम हिना मिना गरेपछि कोशी प्रदेश सरकारले सहकारीलाई २०८१ पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो। त्यसअघि पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो।
सो समितिको पहलमा पहिलो चरणमा २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता सुरु गर्न लागिएको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा पशुपति ढुङ्गानाले बताए ।
सचिव डा.पशुपति ढुङ्गानाका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिएको र उनीहरूको रकम सिधै बैङ्क खातामा पठाइने व्यवस्था गरिएको छ बताए । उनले भने ‘पहिलो चरणमा हाल असुल भएको रकममध्ये करिब १ करोड ३८ लाख रुपैयाँ साना बचतकर्तालाई वितरण गर्न लागिएको छ। आगामी दिनमा थप रकम असुली गर्दै चरणबद्ध रूपमा सबै बचतकर्तालाई बचत फिर्ता गर्ने योजना रहेको छ।’
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेका अनुसार पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रुपैयाँ फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म १ हजार १७३ जनाले करिब २४ करोड ८८ लाख रुपैयाँ सहकारीका सञ्चालकले हिनामिना गरेको दाबी गरेका छन् ।
सहकारीका अध्यक्ष फणीन्द्र मगरलगायतले करिब ९ हजार बचतकर्ताबाट सङ्कलित ४२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । अध्यक्ष मगर बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परि कारागार चलान भएका थिए । झुक्का कारागारमा राखिएका उनी जेन्जी आन्दोलनको क्रममा भागेपछि फरार छन्।समितिले सहकारीले लगानी गरेको ऋण रकम असुली गर्दै बचत कर्ताको रकम फिर्ता गर्न तयारी गरेको हो ।

















