सुनसरी– पथरी स्पोर्टिङ क्लबले सुनसरीको वराहक्षेत्रमा सोमबारबाट सुरु नवौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपमा विजयी सुरुवात गरेको छ ।
न्यु स्टार क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङको पथरी स्पोर्टिङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्थानीय जडेज खेल मैदान भरौलमा भएको प्रतिस्पर्धामा पथरीको जीतमा सञ्जय लिम्बु र आदित्य शाक्यले एक–एक गोल गरे ।
पहिलो हाफको पूरै समय झापाली टिमलाई दबाबमा राखेको पथरीको लागि सञ्जयले २६ औँ मिनेटमा गोल गरे ।
पहिलो हाफमा १–० ले पछि परेको झापाले दोस्रो हाफको १० औँ गोल फर्कायो । राजेश दाहालको पासमा घनश्याम कार्कीले आकर्षक हेड गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

तर दोस्रो हाफको ३१ औँ मिनेटमा मिलन राईको पासमा आदित्यले गोल गरेपछि पथरीले २–१ गोल अन्तरको स्पष्ट जित हात पारेको हो ।
आदित्य खेलको म्यानअफ द म्याच घोषित हुँदै नगद ५ हजार हात पार्न सफल भए ।
प्रतियोगिता अन्तर्गत मङ्गलवारको दोस्रो क्वाटरफाइनल खेल पाहुना टोली मलेसियाको आरटी एफसी र इटहरीको योङ ब्रदर्श क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
चैत्र २९ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशी क्लब सहित ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

















