विराटनगर । इटहरी स्थित यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीका कार्यालय प्रमुख सतिस सत्याल मन्त्रालय तानिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीको छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको पाइएपछि सत्याललाई कारबाही स्वरूप मन्त्रालय तानिएको हो ।

सत्यालले सवारी चालक अनुमति पत्र लिँदा या नवीकरण गर्दा गर्नु पर्ने अनिवार्य स्वास्थ्य परीक्षणमा सेवा ग्राहीसँग पैसा लिएको आरोप लागेको छ । सत्यालले स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीसँग पैसा खाएर स्वास्थ्य परीक्षण पास गराउने गरेको गुनासो आएको थियो । लिखित र मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीमा छड्को अनुगमन भएको थियो ।

अनुगमनका क्रममा फेल स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको पाइएपछि सत्याललाई मन्त्रालयमा तानिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले बताए । उनले भने।, लिखित र मौखिक गुनासो आएपछि अनुगमन भएको थियो । अनुगमनका क्रममा फेल भएकालाई पास गराएको पाइएपछि मन्त्रालय तानिएको छ ।

मन्त्री पराजुलीले यस बारेमा थप अध्ययन भइरहेको बताए । अनुगमनमा गएको टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराजमा सिल गरेको छ ।  मन्त्री पराजुलीले भने हामीले पटक पटक मौखिक रूपमा सचेत गराएका थियौ । सचेत गराउँदा पनि नसुध्रिएपछि छड्के अनुगमन भएको हो ।

यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य जाँचका विषयमा सेवा ग्राहीसँग आर्थिक लाभ लिने गरेको गुनासो आएपछि गएको साउन बाट मन्त्रालय आफैले स्वास्थ्य परीक्षण गर्न डाक्टर नियुक्त गर्ने व्यवस्था भएको थियो । अस्थायी दरबन्दी सृजना गरेर तराइका तीन जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा डाक्टरको नियुक्त भएको थियो । मन्त्रालयका अनुसार झापाको बिर्तामोड स्थित यातायात व्यवस्था कार्यालयमा २ जना इटहरीमा २ जना र विराटनगरमा १ जना विशेषज्ञ डाक्टर नियुक्त गरेको छ । नियुक्त भएका डाक्टरहरूले सवारी चालक अनुमति पत्र लिँदा र नवीकरण गर्दा स्वास्थ्यको रिपोट दिने गरेका छन् । 

सत्ष्यालले भने यातायात व्यवस्था कार्यालयमा क्रोनिक समस्याको रूपमा रहेको स्वास्थ्य परीक्षण सुधारमा लागेकाले आफू माथि आरोप लगाइएको बताए । उनले सेवा ग्राहीलाई असहज नहोस् भनेर आफूले रि चेक लेखिदिने गरेको र सोही आधारमा आफूलाई आरोप लगाइएको बताए । उनले भने, स्वास्थ्य परीक्षण गर्न आएकाहरू फेल भएपछि म कहाँ आउने गरेका थिए ।फेल भएकाहरूलाई र चेक गरिदिनु भनेको आधारमा आरोप लगाइएको । मैले एक रुपैयाँ खाएको छैन छानबिन बाट सत्य तथ्य आउँछ ।