विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एक प्रेस विज्ञप्ति जारी गर्दै कथित ‘कार्की आयोग’को प्रतिवेदन कार्यान्वयनको बहानामा सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्दै एमाले कोशीले वर्तमान सरकारलाई ‘अराजनीतिक दलको सरकार’ र ‘गैर संवैधानिक’ संज्ञा दिँदै यो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “भदौ २३ गतेको शान्तिपूर्ण युवा आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद् विघटन गरेर बनेको सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको छ।” अध्यक्ष ओलीको पक्राउलाई सिङ्गो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमाथिको नाङ्गो प्रहार र दमनका रूपमा एमालेले अर्थ्याएको छ। एमाले कोशी प्रदेशले अध्यक्ष ओलीसहित पक्राउ परेका अन्य नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ। साथै, सरकारको यस्तो प्रतिशोधपूर्ण कार्य तत्काल बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ। विज्ञप्ति मार्फत पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई विचलित नभई सरकारको ‘नाङ्गो प्रहार’का विरुद्ध आन्दोलन र सङ्घर्षका लागि तयारी अवस्थामा रहन आह्वान गरिएको छ।