काठमाडौँ । जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो र बेलुकीबाटै कार्यान्वयन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग कुराकानी थालेका थिए । उनीहरुले पक्राउ गर्नुअघि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सुझाएका थिए । त्यसपछि मन्त्रालयले नै ओली र लेखकविरुद्ध जाहेरी दिएको थियो ।
जाहेरी अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न तत्काल पक्राउ गर्नुपर्ने भन्दै प्रहरीले जरुरी पूर्जी तयार गरेको थियो । त्यसपछि ओली र लेखक पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ । सुरक्षा अधिकृतहरुका अनुसार, ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्री तहका व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना हो ।
प्रतिवेदनमा ओली र लेखकसँगै तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई पनि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले सुरक्षाकर्मीको हकमा अध्ययन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोगको प्रतिवेदनमा २३ भदौमा गोली प्रहारबाट केहीको मृत्यु भइस्केपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्री ओली लगायत कुनै पनि पदाधिकारी अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेको भनिएको छ । ‘त्यही कारणले नै अत्यधिक मानवीय क्षति हुन गयो’, प्रतिवेदनमा भनिएको छ ।
कर्फ्यु लाग्नुभन्दा अघिबाट चार घन्टासम्म गोली चल्दासमेत तत्कालीन पदाधकिारीले नरोकेको भनिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘गृह प्रशासन, सुरक्षा निकायका प्रमुखहरु र समग्रमा शान्ति सुरक्षाको सम्पूर्ण दायित्व भएका गृहमन्त्री रमेश लेखक र देशका कार्यकारिणाी प्रमुख रहेका प्रधानमन्त्री केपी ओलीले २३ भदौको दिउँसो नै बढी मानवीय क्षति रोक्नेतिर कुनै पहलको प्रयासम्म गरेको देखिन आएन ।’ गोली चलाउने काम रोक्नेतिर प्रयास नगरी उनीहरुको लापरबाहीपूर्ण कार्यका कारण किशोरकिशोरीको ज्यान गएको देखिएको प्रतिवेदनमा भनिएको छ ।

















