विराटनगर । सुनसरी इनरुवाकी निशा मेहता पेसाले नर्स हुन्। उनी विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गर्थिन । उनको परिवार राजनीतिमा छ।
उनका दाजु राजन मेहता ७४ को स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिको मेयरमा निर्वाचित भए । ७९ मा भने राजन जिल्ला समन्वय समिति सुनसरीका प्रमुखमा निर्वाचित भए । नेपाली काँग्रेसबाट मेयर र जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका मेहताकी बहिनी निशा भने राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि त्यता लागिन ।
जति बेला इनरुवा क्षेत्रमा रास्वपाको प्रभाव थिएन । सोही बेला निशा भने रास्वपाको राजनीतिमा सक्रिय भइन । परिवारका सदस्य नेपाली काँग्रेसको राजनीतिमा हुँदा उनले भने वैकल्पिक राजनीति यात्रामा जोडिइन् । नर्सको रूपमा कार्यरत रहँदै उनी राजनीतिमा पनि सक्रिय भइन ।
बिरामीको सेवामा अहोरात्र खटिने उनको दैनिकी अब भने फेरिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट मधेसी क्लस्टरअन्तर्गत समानुपातिक सांसद निर्वाचित भएसँगै उनी स्वास्थ्य मन्त्री बनेकी छन् ।
२०४४ साउन २२ गते इनरुवा ८ मा निशाको जन्म भएको हो । उनले विद्यालय शिक्षा इनरुवामा नै हासिल गरिने । विएस्सी नसिंंग भने भारतको एम्सबाट गरेकी हुन् । निशाका दाजु राजन मेहताका अनुसार एम्सबाट विएस्सी नर्सिङ सकेपछि निशाले विराटनगरको नोबेल मेडिकल कलेजमा केही समय काम गरिन् । त्यसपछि केही समय उने धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन् ।
उनले नर्सिङमा स्नातकोत्तर भने ग्लालियर विश्व विद्यालयबाट गरेकी हुन् । मेहताले भने, हामी नेपाली काँग्रेसको राजनीतिमा भए पनि निशा भने विद्यार्थी कालमा भने राजनीतिमा नलागेको बताए । उनले भने , रास्वपा गठन भएसँगै उहाँ रास्वपाको राजनीतिमा सक्रिय हुनु भयो । नर्सिङको काम पनि निरन्तर जारी थियो ।
उनी रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्य बनेर काम गरेको उनका श्रीमान् डा सरोज सिंहले बताए । उनका अनुसार निशा अघिल्लो निर्वाचनमा पनि समानुपातिक सूचीमा थिइन् । तर त्यति बेला संसद् प्रवेश गर्ने अवसर जुट्न सकेन। ७९को निर्वाचनमा सांसद बन्न नसकेकी निशा निराश भइनन्, बरु पार्टीको केन्द्रीय सदस्यका रूपमा सङ्गठन विस्तारमा सक्रिय भइन्।
समानुपातिक तर्फबाट सांसद भएपछि निशाले भनेकी थिइन् यो जिम्मेवारी केवल व्यक्तिगत सफलता होइन, यो सामाजिक सेवा, पेसागत अनुभव र राजनीतिक धैर्यको सम्मिश्रण हो । पहिलो पटक असफल भए पनि पार्टी र आफ्नो लक्ष्यप्रति उनी सधैँ प्रतिबद्ध रहेकाले रास्वपाले सफलता हासिल गरेको निशाले बताइन् । पछिल्लो समय भने विराट मेडिकल कलेज एण्ड टिचींग अस्पतालमा काम गरिन् ।
समानुपातिक तर्फबाट सांसदको सपथ खाएपछि भने उनले अस्पतालको जागिर छाडेको उनका श्रीमान् सरोज सिंहले बताए । उनका श्रीमान् डा सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक हुन् ।
उनी नेपाल प्रहरी श्रीमती सङ्घ, कोशी प्रदेशको प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् । सङ्घलाई सक्रिय र चलायमान बनाउन उनको योगदान उल्लेखनीय मानिन्छ ।

















