विराटनगर।काेशी प्रदेश सभा सदस्य सिर्जना राईले राष्ट्रिय झन्डाको जथाभाबी दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रचलित कानुन र कार्यविधिको कडाइका साथ पालना गराउन माग गरिन्। उनले प्रदेश सभाको शून्य समयमा बोल्दै सरकारको ‘एक घर एक धारा’ कार्यक्रमको वास्तविक प्रगति विवरण सार्वजनिक गर्न र प्रादेशिक प्रयोगशाला स्थापनाको अवस्थाबारे जानकारी दिन पनि माग गरिन्।
राष्ट्रिय झन्डाको दुरुपयोगप्रति चिन्ता
सांसद राईले देशभर सडक, चोक र सार्वजनिक स्थलहरूमा नियम विपरीत राष्ट्रिय झन्डाको प्रयोग भइरहेको बताइन्। `राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६७ (पहिलो संशोधन २०७६)´ स्पष्ट हुँदाहुँदै पनि यसको कार्यान्वयन नहुनु र अनुगमनकारी निकाय मौन बस्नु गम्भीर कमजोरी भएको उहाँको तर्क थियो। उनले झन्डाको जथाभाबी प्रयोग रोक्न प्रभावकारी अनुगमन गर्न वा वर्तमान कार्यविधि व्यवहारिक नभए परिमार्जन गरी स्पष्ट नीति ल्याउन सरकारसँग माग गरिन्।
'एक घर एक धारा' को प्रगति विवरण माग
सांसद राईले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित "एक घर एक धारा" कार्यक्रम र प्रादेशिक खानेपानी प्रयोगशाला स्थापनाको विषयमा पनि सरकारलाई प्रश्न गरिन्। उनले उक्त कार्यक्रमको हालसम्मको वास्तविक प्रगति, जिल्लागत रूपमा धारा जडान भएका घरधुरीको सङ्ख्या र अझै सेवाबाट वञ्चित नागरिकहरूको तथ्याङ्क सार्वजनिक गर्न माग गरे।
आर्थिक वर्ष २०७६/७७ देखि सुरु भई हाल क्रमागतमा रहेका खानेपानी ट्याङ्की निर्माणका आयोजनाहरू कहिलेसम्म सम्पन्न हुन्छन् भनी उनले प्रश्न गरे। जनताको आधारभूत आवश्यकतासँग जोडिएको यो कार्यक्रमको यथार्थ विवरण यथाशीघ्र उपलब्ध गराउन र बाँकी घरधुरीमा छिटो सेवा पुर्याउन कार्यक्रम सुनिश्चित गर्न उनले सरकारको जोडदार ध्यानाकर्षण गराइन्।

















