विराटनगर। उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक हुन लागेको 'घर निर्माण प्रदर्शनी २०२६' ले घर निर्माणका प्राविधिक पक्षदेखि आधुनिक जीवनशैलीसम्मका विषयलाई एउटै थलोमा समेट्ने भएको छ। आगामी चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा सञ्चालन हुने यस प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी विज्ञहरूसँगको प्रत्यक्ष अन्तरक्रियाका लागि ११ वटा विशेष थिमेटिक सेसनहरू सञ्चालन गरिनेछन्।
प्रदर्शनीको दोस्रो दिन अर्थात् चैत १३ गते सुरक्षित निर्माणका मापदण्ड र सामग्रीको गुणस्तरमा केन्द्रित रहेर छलफल सुरु हुनेछ भने त्यसपछिका दिनहरूमा क्रमशः आधुनिक वास्तु शास्त्र, इन्टेरियर डिजाइन, होम अटोमेशन र सोलार प्रविधिको प्रयोगबारे विज्ञहरूले जानकारी दिनेछन्। प्रदर्शनीको अन्तिम दिन पुराना भवनको आयु बढाउने प्रविधि, रेट्रोफिटिङ र ओस तथा धमिरा नियन्त्रण जस्ता व्यावहारिक समस्याको समाधानमा केन्द्रित रहेर विशेष सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
७० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने यस मेलामा सर्वसाधारणले निःशुल्क प्रवेश पाउनेछन् भने प्राविधिकहरूसँग निर्माण सम्बन्धी व्यक्तिगत परामर्श लिने सुविधा समेत उपलब्ध हुनेछ। कोशी प्रदेशमै नौलो मानिएको यो प्रदर्शनीले घर बनाउने तयारीमा रहेका र पुराना घरको मर्मत सम्भार गर्न चाहने दुवै वर्गका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अध्यक्ष नन्दकिशोर राठीको विश्वास रहेको छ।

















