विराटनगर। धनकुटाको महालक्ष्मी नगरपालिकामा महिला सशक्तीकरण सम्बन्धी चेतनामूलक खुला नाटक प्रतियोगिता आयोजना गरिएको छ। नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा समाजमा जकडिएर रहेका विविध विकृति र विसंगतिहरूलाई नाटकमार्फत उजागर गरिएको थियो।
प्रतियोगितामा सहभागी विभिन्न नाट्य समूहहरूले समाजको यथार्थ चित्रण गर्दै गरिबी, अशिक्षा र अन्धविश्वासका विरुद्ध सशक्त आवाज बुलन्द गरेका थिए। विशेष गरी पुरुषवादी सोच, लैङ्गिक असमानता र महिला हिंसाका घटनाहरूलाई मञ्चमा जीवन्त रूपमा उतारिएको थियो। यसका साथै पछिल्लो समय प्रविधिको गलत प्रयोगले समाजमा पारेको नकारात्मक प्रभावलाई समेत नाटकको माध्यमबाट अत्यन्तै सुन्दर र मार्मिक ढङ्गले प्रस्तुत गरिएको महालक्ष्मी नगरपालिकाका महिला विकास निरीक्षक गीता लुइँटेलले जानकारी दिइन्। 
655208323_3901705563296720_5151383852361182654_n
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर ध्रबराज रायले समाजको यथार्थ स्थिति सबै सामु ल्याउन सफल भएको बताए। महालक्ष्मी नगरपालिकाले समाजमा हुने विकृति विसंगतीहरुको अन्त्य गर्नका लागि अभियानहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार, समाजलाई कसरी सचेत बनाउने भन्ने उपाय मध्ये नाटक पनि एउटा महत्त्वपूर्ण क्षेत्र भएकोले खुल्ला नाटक मार्फत सचेतना अभिवृद्धि भएको छ। उपप्रमुख अन्जुकुमारी कार्कीले अहिले पनि समुदायमा लुकेर रहेका वास्तविकतालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको प्रति खुसी व्यक्त गर्दै समाजमा हुने गलत प्रवृत्ति चिर्न सबै लाग्नु पर्नेमा जोड दिइन्।
मञ्चन भएका नाटकहरूले नगरपालिकाको आगामी नीति निर्माण र सामाजिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास  लिइएको बताइन्। कार्यक्रमको सफलतामा सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी र उपस्थित सम्पूर्ण महानुभावहरूमा आयोजकले आभार व्यक्त गर्दै विजयी समूहहरूलाई बधाई दिइएको थियो।