सुनसरी । विराटनगरमा आयोजना गरिएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा घरेलु टोली मोरङले विजयी सुरुवात गरेको छ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मोरङले सुनसरीलाई ५९ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको हो।
टस जितेर ब्याटिङ रोजेको मोरङ २७.३ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमै समेटिएको थियो।
संकटपूर्ण अवस्थामा आठौँ नम्बरमा आएका प्रतिक पोखरेलले उत्कृष्ट ३२ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए। सुवास राँयले १३ रनको योगदान दिएका थिए। सुनसरीका कविराज खत्रीले शानदार बलिङ गर्दै ९.३ ओभरमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिए।
कृष्ण विष्ट र रविन मण्डलले समान १–१ विकेट लिए।
११५ रनको लक्ष्य पछ्याएको सुनसरी १९.४ ओभरमै ५५ रनमा अलआउट भयो। रोशन खत्रीले १७ तथा अफन ताहिरले ११ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
मोरङका कृष शर्माले ७.४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कृतिक कामतले २ ओभरमा मात्र २ रन खर्चिएर ४ विकेट झारे।
प्रतिक पोखरेलले पनि १ विकेट लिए।
अलराउन्ड प्रदर्शन गरेका प्रतिक पोखरेल प्लेयर अफ द म्याच घोषित भए। उनले ब्याटिङमा ३२ रन बनाउनुका साथै दुई महत्वपूर्ण क्याच पनि लिएका थिए।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टोली सहभागी छन्। कोशी प्रदेशमा क्रिकेट विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए।
पूर्व क्रिकेटर अनिल श्रेष्ठ र मीन दाहालको सम्मानमा प्रतियोगिता सञ्चालन गरिएको हो।
‘बेस्ट अफ थ्री’ आधारमा खेलाइने श्रृंखलाबाट विजेता तय गरिने आयोजकले जनाएको छ।
















