विराटनगर । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयमा चिनियाँ राष्ट्रपति सि जिन पिङको पुस्तक द गर्भनेन्स अफ चाइना नामक पुस्तक जलाएको विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
फोहोर जलाउने क्रममा पुस्तकका केही प्रति पनि जलेको भिडियो सार्वजनिक भएपछि चिनियाँ दूतावासले घटनाका विषयमा प्रतिक्रिया जनाउँदै परराष्ट्र मन्त्रालयलाई सोमबार चिठ्ठी लेखेको थियो ।
चिनियाँ दूतावासले पत्र लेखेपछि गृह मन्त्रालयले घटनाका विषयमा छानबिन गर्न मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य रहेका छन्।
शनिवार साँझ फोहोर जलाएको भिडियोमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले २४ घण्टाभित्र घटनाको विषयमा जवाफ मागेको थियो। विश्वविद्यालयले यसअघि जिल्ला प्रशासन कार्यालयलाई पठाएको जवाफमा ल्याबका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको दाबी गरेको थियो।
सो जवाफ पछि गृह मन्त्रालयले छानबिन समिति बनाएको र १५ दिन भित्रमा प्रतिवेदन बुझाउने समय सीमा तोकिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले भने, घटनाका विषयमा छानबिन गर्न समिति बनेको छ । समितिले प्रतिवेदन बुझाएपछि थप कुरा भन्न सकिन्छ ।
प्रदेश सरकार मातहतमा रहेको विश्व विद्यालयमा मनमोहन प्रतिष्ठान मार्फत ती पुस्तक आएका थिए । स्व भरतमोहन अधिकारी प्रतिष्ठानको अध्यक्ष हुँदा नै स्थानीय सङ्घ संस्थालाई वितरण गर्नका लागि ती किताबहरू तत्कालीन मनमोहन पोलीटेक्नीक इन्सटीच्युटमा आएको थियो ।
विश्व विद्यालयका उप कुलपति सुभाष श्री पोख्रेलले धेरै किताबहरू वितरण भएको र बाँकी रहेको किताबहरू अहिले पनि सुरक्षित रहेको दाबी गरे । उनले पानीले भिजेका र धमिराले खाएका किताबहरू फोहोर जलाउने क्रममा जलेको हुन सक्ने बताए । उनले मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सि जिन पिङ को पुस्तक जलाइएको घटनाको सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालय संरक्षण समितिले पनि तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको बताएका छन् ।
विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय ऐनको दफा २४ को व्यवस्था बमोजिम रहेको संरक्षण समितिले छानबिनका लागि यो समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा संरक्षण समितिका सदस्य राजन केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा संरक्षण समितिकै सदस्य मुकेश उपाध्याय र उच्च अदालत विराटनगर बार एसोसिएसनका पूर्व अध्यक्ष सुरेशलाल श्रेष्ठ रहेका छन्।
१५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको यस समितिलाई घटनास्थलको स्थलगत अध्ययन गर्ने, घटनासँग सम्बन्धित तथ्य तथा तथ्याङ्कहरू सङ्कलन गर्ने र शिक्षक, कर्मचारी लगायतका सरोकारवालाहरूसँग आवश्यक सूचना लिने जिम्मेवारी तोकिएको छ।
विश्वविद्यालयका संस्थापक सहकुलपति एवम् संरक्षण समितिका सदस्य जीवन घिमिरेका अनुसार, समितिले स्थानीय प्रशासन र विश्वविद्यालयका पदाधिकारीहरूसँग समेत आवश्यक समन्वय गरी अनुसन्धानलाई अगाडि बढाउनेछ।
विश्वविद्यालयले घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। थप विस्तृत अध्ययनका लागि गठित कार्यदलले आजैबाट आफ्नो काम समेत प्रारम्भ गरिसकेको जनाएको छ।

















