सुनसरी । श्रम संस्कृति पार्टी (ससंपा)का अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्ट्याटस लेख्दै ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेका छन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ पार्टीले पाएको चार सिटमा समावेश हुने सदस्यबारे सामाजिक सञ्जालमा विवाद देखिएपछि उनले यस्तो स्ट्याटस लेखेका हुन् । सामजिक सञ्जालमा ससंपाको तर्फबाट समानुपातिक उम्मेद्वारको बन्दसूचिमा परेका समला राईले आफू जसरी पनि संसद बन्नुपर्ने भन्दै दिएको अभिव्यक्ति ‘भाईरल’ बनेको छ । उनले आफूले सात वर्षदेखि श्रमदान गर्दै हर्क साम्पाङ र श्रम संस्कृति पार्टीका लागि योगदान दिएको भन्दै पार्टी अध्यक्ष र महासचिवले आफूलाई नपठाए ‘नराम्रो हुने’ चेतावनी दिएकी छिन्।

यद्यपी संवैधानिक प्रावधान र पार्टीले प्रत्यक्षतर्फ जितेको सिटको आधारमा उनको नाम पर्ने सम्भावना छैन ।

राईको यस्तो अभिव्यक्ति र सामाजिक सञ्जालमा आफ्ना समर्थकहरुबाट आएको प्रीतक्रियाप्रति दिक्क मान्दै उनले एक भिडियोमा समानुपातिक व्यवस्था आफूलाई भूत जस्तो लागेको समेत बताएका छन् ।

 ‘समानुपातिक भनेको भूत जस्तो लाग्न थाल्यो मलाई’ सामाजिक सञ्जालमा ट्रोल बनिरहेको उनको भिडियोमा भनिएको छ ‘चारै वटा छाडिदिनुपर्छ कि के हो? यो छाडेर हामी तीन जना मात्र जाउँ कि के हो?’

 आफ्ना समर्थकहरुसमेत रहेको उक्त भिडियोमा उनले सबैलाई सम्झाउँदै सबैलाई कुरा बुझ्न पनि आग्रह गरेका छन् ।

‘तँपाईहरुलाई मेरो माया लाग्छ? तँपाईहरु एक आपसमा झगडा गर्नुहुँदैन ।’ उनले भनेका छन् ‘कसैको चित्त बुझ्दैन भने त्यसलाई सरीभन्दा बाँकी भन्न सकिन्न । समानुपातिक भनेको के हो सबैले बुझ्नुपर्छ ।’