इटहरी । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएकी भगवती चौधरीले विकास, रोजगारी, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। नेकपा एमालेकी उम्मेदवार चौधरीले “समृद्ध सुनसरी–३, सम्मानित नागरिक” भन्ने मूल नारासहित घोषणापत्र अघि सारेकी हुन्।
प्रतिबद्धता पत्रमा चौधरीले नारा भन्दा नतिजामा विश्वास गर्ने उल्लेख गर्दै विगतमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै अधुरा काम सम्पन्न गर्ने स्पष्ट पारेकी छन्। उनका अनुसार पछिल्ला तीन वर्षमा १ अर्ब २३ करोड रुपैयाँ बराबरका विकास योजना सञ्चालनमा आइसकेका छन्, जसलाई रोक्ने होइन, गति दिने नीति लिइनेछ।
आवास कार्यक्रमअन्तर्गत हालसम्म २७५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको र आगामी दुई वर्षभित्र थप ४०० परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। रोजगारीतर्फ हालसम्म २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको उल्लेख गर्दै आगामी दिनमा कम्तीमा ५ हजार थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। युवालाई सूचना प्रविधि तालिम दिई घरमै बसेर आयआर्जन गर्न सक्षम बनाइने प्रतिबद्धतामा उल्लेख छ।
महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत ५० हजार महिलालाई स्वरोजगार बनाइसकिएको र थप ५० हजार महिलालाई आयआर्जनमा जोड्ने योजना सार्वजनिक गरिएको छ। प्रशासनिक सेवा सुधारका लागि सरकारी कार्यालय, अस्पताल र बैंकमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्ने पहल गरिने बताइएको छ।
स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई निःशुल्क उपचार, इटहरी र दुहबी अस्पतालको स्तरोन्नति, लुनकरणदास च्यारिटी अस्पतालमा बर्थिङ सेन्टरसहित सेवा विस्तार, ज्येष्ठ नागरिकका लागि ‘दन्त उपहार’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
बाढी–कटान नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी तटबन्ध निर्माण, पर्यटन प्रवर्द्धनअन्तर्गत बजुताल र बुढी झर्नाको संरक्षण तथा होमस्टे विकास, कृषिमा तरकारी पकेट क्षेत्र घोषणा, किसान नेट, किसान मार्ट, वेयरहाउस र गोदाम घर सञ्चालन, मल–बीउ समयमै उपलब्ध गराउने योजना पनि घोषणापत्रमा समेटिएको छ।
शिक्षामा एआई आधारित अध्ययन प्रणाली लागू गर्दै शिक्षक तथा विद्यार्थीलाई तालिम दिने, ‘आउ, पढ, कमाऊ, तिर’ शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। भौतिक पूर्वाधारतर्फ सडक र पुललाई प्राथमिकता दिँदै स्वच्छ खानेपानी सबै घरमा पु¥याउने लक्ष्य राखिएको छ।
सामाजिक न्यायका लागि भूमिहीन सुकुम्बासीलाई धनीपूर्जा उपलब्ध गराउने, श्रमिक तथा मजदुरको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने, नागरिकता लिन नसकेका नेपालीका लागि ‘हेल्प डेस्क’ स्थापना गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ।
उम्मेदवार चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र अन्य उम्मेदवारको आलोचना होइन, आफ्ना काम र योजनाबाट जनताको विश्वास जित्ने दाबी गरेकी छन्।

















