सुनसरी । चुनावी अभियानका क्रममा दुई दलका कार्यकर्ताबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार सर्वदलीय बैठक बोलाएको छ ।
शनिबार सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–४ मा आयोजित चुनावी कार्यक्रममा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो।
प्रहरीका अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका केही युवासँग जम्काभेट भएको थियो।
सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदै हात हालाहालको स्थितिमा पुगेपछि प्रहरीले लाठीचार्ज गरी दुवै पक्षलाई तितरबितर पारेको जनाएको छ।
परिस्थिति असामान्य बन्ने संकेत देखिएपछि सामाजिक सद्भाव कायम राख्न तथा निर्वाचनलाई शान्तिपूर्ण बनाउन आइतबार दिउँसो 3 बजे जिल्ला प्रशासन कार्यालयको सभा हलमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।
यसैबीच, नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सिलसिलामा प्रचार–प्रसार समितिले आयोजना गरेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सहभागी हुन गएका आफ्ना नेता–कार्यकर्तामाथि अवरोध गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले हलुहज्जत र दुर्व्यवहार गर्नुका साथै प्रचार सामग्रीका रूपमा प्रयोग गरिएको ब्यानर च्यात्ने प्रयास गरेको आरोप लगाइएको छ।
क्षेत्रीय कार्यसमितिका सचिव रोशनकुमार खड्का र मुकेश्वर यादवको हस्ताक्षर रहेको विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ।
काँग्रेसले निर्वाचनका बेला वैचारिक बहस र लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्नेमा यस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ।
साथै, दोषीमाथि तत्काल कारबाही नगरिए भविष्यमा हुन सक्ने अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।

















