विराटनगर। विराटनगरस्थित आदर्श विद्यालयले विभिन्न अन्तर विद्यालय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको साख उच्च राख्न सफल भएको छ। विराटनगर महानगरपालिकाको समन्वय तथा पोखरिया माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित महानगरपालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरू पहिलो चरणमा प्रथम स्थान हासिल गर्दै दोस्रो चरणका लागि छनौट भएका छन्।

यसैगरी, महानगरपालिका स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता (कक्षा १–५) मा समेत विद्यालयका विद्यार्थीले उत्कृष्ट कला प्रस्तुत गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन्। उक्त सफलता स्वरूप विद्यार्थीले नगद ६ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन्।WhatsApp Image 2026-02-20 at 21.19.10

अन्तर विद्यालयस्तरमा सफलताको सिलसिलालाई जारी राख्दै श्री मिल्स माध्यमिक विद्यालयको आयोजनामा गत माघ २३ गते सम्पन्न महानगरपालिका स्तरीय माध्यमिक तह (कक्षा ९–१०) हाजिरी जवाफ प्रतियोगितामा पनि आदर्श विद्यालयले प्रथम स्थान हासिल गरेको थियो। उक्त प्रतियोगितामा प्राप्त गरेको जितको ट्रफी विद्यालयको वार्षिकोत्सव समारोहको अवसर पारी  आज ग्रहण गरिएको हो। विद्यार्थीको उपलब्धिहरूले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा रहेको सबल उपस्थितिलाई पुष्टि गरेको प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए। उनले विजयी विद्यार्थीहरूलाई बधाई समेत दिएका थिए।