इटहरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्‍याएको बताएका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले बढाउन नसकेको बताए।

उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्।’

उनले सडक बालबालिका अन्त्य गर्नको लागि अभियान नै चलाएको बताए। पछाडि परेको समुदायलाई अगाडि बढाउने कार्यक्रम पनि आफूले गरिरहेको जिकिर गरे।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफनो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् ।

ओलीको झापा क्षेत्र नं। ५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ ।

ओलीको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट सुरु हुने छ । सो कार्यक्रममा उनले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यसपछि उनी मतदातासँग भेटका लागि विभिन्न पुग्नेछन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तीमा पुगी मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ ।त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नेछ । शुक्रबारदेखि ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।

शनिबार र आइतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरे ।त्यस क्रममा स्थानीयले यस क्षेत्रको विकासका लागि ओलीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरु पूरा गर्न आग्रह गरेका थिए ।