सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक, झुटा तथा अफवाहपूर्ण सामग्री पोस्ट गरेको आरोपमा नेकपा (एमाले) सुनसरीका एक युवा नेता पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति इनरुवा निवासी विप्लव घोष रहेको र उनी एमाले सुनसरीका युवा नेता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गरी भ्रामक भिडियो पोस्ट गरेका थिए ।

प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना, झुटा समाचार तथा अफवाह फैलाउने गतिविधिमा संलग्न भएको पाइएकाले घोषलाई नियन्त्रणमा लिइएको जनाएको छ । साथै, यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक सञ्जाल तथा विभिन्न पेजहरूलाई विशेष निगरानीमा राखिएको जानकारी दिँदै गलत सूचना र भ्रामक सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध गरेको छ ।

यसअघि रास्वपा सुनसरीले विज्ञप्ति जारी गर्दै घोषमाथि कारबाहीको माग गरेको थियो । उक्त विज्ञप्तिपछि घोषले सामाजिक सञ्जालमार्फत क्षमा याचना गरेका थिए ।

तर पछि उनले क्षमा याचनासम्बन्धी पोस्ट हटाउँदै ‘हाइकमाण्डको सल्लाह बमोजिम’ पोस्ट डिलिट गरेको उल्लेख गर्दै आफ्ना कुरा थपेर पुनः स्ट्याटस लेखेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।