इटहरी । १२ औँ हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत सम्पन्न पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ कस्तुरी कलेज, इटहरी र महिलातर्फ पूर्वाञ्चल कलेज, इटहरी–२० तरहराले उपाधि जितेका छन् ।

पुरुष भलिबलतर्फको फाइनल खेलमा कस्तुरी कलेजले ज्ञानदर्पन एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

वेस्ट अफ फाइभ प्रणालीमा सम्पन्न फाइनल खेलमा कस्तुरी कलेजले २५–१५, २५–१९ र २५–२१ को सेट स्कोरमा जित हासिल गरेको थियो । तेस्रो स्थानका लागि भएको वेस्ट अफ थ्री खेलमा पूर्वाञ्चल कलेज, इटहरी–२० ले सुस्मा कलेजलाई २५–१४ र २५–१७ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो ।

पुरुषतर्फका व्यक्तिगत विधातर्फ कस्तुरी कलेजका समीर गिरी उत्कृष्ट सर्भर, सनम गुरुङ उत्कृष्ट सेटर तथा प्रजल गिरी उत्कृष्ट डिफेन्स घोषित भए ।

पूर्वाञ्चल कलेजका दीपेश पुरी उत्कृष्ट ब्लकर घोषित हुँदा ज्ञानदर्पन एकेडेमीका विधान लिम्बु उत्कृष्ट स्पाइकर बने ।

कस्तुरी कलेजकै भीष्मराज श्रेष्ठ उत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भए ।

boys

महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा पूर्वाञ्चल कलेजले धरान आदर्श, धरानलाई पराजित गर्दै उपाधि जितेको हो ।

वेस्ट अफ फाइभ प्रणालीमा भएको फाइनल खेलमा पूर्वाञ्चल कलेजले धरान आदर्शलाई २५–२०, २५–१८, २२–२५ र २५–२० को सेट स्कोरमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको वेस्ट अफ थ्री खेलमा कस्तुरी कलेज, इटहरीले कोसी कलेजलाई २५–१६ र २५–१७ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो ।

महिलातर्फ धरान आदर्शकी सञ्जीव राई उत्कृष्ट सर्भर घोषित भइन् ।

पूर्वाञ्चल कलेजकी आयुषा राई उत्कृष्ट सेटर तथा आशिका धमला उत्कृष्ट ब्लकर घोषित भइन् ।

धरान आदर्शकी प्रतीक्षा जोशी उत्कृष्ट स्पाइकर तथा कस्तुरी कलेजकी रिया शाही उत्कृष्ट डिफेन्स घोषित भइन् ।

पूर्वाञ्चल कलेजकी रुमा श्रेष्ठ उत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भइन् ।