सुनसरी । तीन पटकको च्याम्पियन न्युरोड टिम एनआरटी २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटर फाइनलबाटै बाहिरिएको छ । शनिवार भएको पहिलो क्वाटर फाइनलमा यसै वर्ष ए डिभिजनमा उक्लिएको काठमाण्डौको प्लानिङ ब्वाइज युनाइटेडसंग २–० ले पराजित हुँदै एनआरटी बुढासुब्बा गोल्डकपको क्वाटर फाइनलबाटै बाहिरिएको हो ।
धरान रङ्गशालामा भएको खेलमा प्लानिङ ब्याइजका लागि बिदेसी खेलाडी केबे र श्याम मुर्मुले गोल गरे । केबेले खेलको ४३ र मुर्मुले ८६ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफद म्याच प्लानिङ ब्याइजका गोलकिपर योगेस धिमाल घोषित हुँदै नगद १० हजार पाए । 
प्लानिङ ब्वाइजले अब आगामी बुधवार हुने पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र पोखराको लालिगुरास एफसीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजक धरानले उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गर्दा लालिगुरासले सिधै वाई पाएर अन्तिम आठको यात्रा तय गरेको थियो ।
आइतबार हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबले गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
यसअघि शुक्रवार रोयल थिम्पु फुटबल क्लब भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
फाइनल विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ ।
विधागत उत्कृष्टले जनही नगद २५ हजार पुरस्कार पाउँदा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।