विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जीवन घिमिरेले आगामी निर्वाचनमा आफ्नो क्षेत्रबाट एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले जनसंगठनसँगकाे भेटघाटका क्रममा घिमिरेले आफ्नो ४० वर्षको राजनीतिक लगानी र जनतासँगको सामीप्ययता नै जितको मुख्य आधार भएको बताए । घिमिरेले मोरङ ४ मा एमालेको सङ्गठनात्मक अवस्था अन्य दलको तुलनामा निकै बलियो रहेको दाबी गरे । `हाम्रो टोल तहसम्मको बलियो सङ्गठनात्मक संरचना (चेन सिस्टम) छ,´उनले भने, `विगत ४० वर्षदेखि म यही क्षेत्रको मलामी, जन्ती र सामाजिक काममा सक्रिय छु । म काठमाडौँ बस्ने नेता होइन, यहीँको माटोमा भिजेको मान्छे हुँ।´
उनले विगतमा अन्य उम्मेदवारले जितेको भए पनि त्यो एमालेकै समर्थनमा सम्भव भएको टिप्पणी गर्दै यस पटक नतिजा एमालेकै पक्षमा आउने दाबी गरे । घिमिरेले आफ्नो क्षेत्रमा रहेका ठुला तर अलपत्र आयोजनाहरूलाई पूर्णता दिने सङ्कल्प समेत गरे। उनले आफ्ना मुख्य योजनामा बथनाहा–कटहरी रेलमार्ग र विराटनगर रिङ रोडलाई तत्काल सञ्चालनमा ल्याउने बताए। `नेता चोक–बाहुनी सडकको धुलोबाट जनतालाई मुक्ति दिलाउन कालोपत्रे गर्ने र हुलाकी राजमार्गको काम सम्पन्न गर्नुपर्नेछ,´ उनले भने, `बैजनाथपुर खेल मैदानको स्तरोन्नति गरी यसलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने रहेका छन् ।´
कोसी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले कोभिड महामारीका बेला १५ दिनभित्रै कोभिड अस्पताल बनाएको स्मरण गर्दै आफूसँग काम गर्ने इच्छाशक्ति र अनुभव दुवै रहेको गरे । `म जे बोल्छु, त्यो पूरा गर्छु । मन्त्री हुँदा मेरो मन्त्रालय उत्कृष्ट घोषित हुनु यसकै प्रमाण हो,´उनले भने। उनले भने `मलाई जनप्रतिनिधि चुनेबापत यस क्षेत्रका जनताले कहिल्यै पछुताउनु पर्ने छैन । सबैले मेरो जनप्रतिनिधि भनेर गर्व गर्ने गरी शिर उच्च राखेर काम गर्नेछु।´
पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूबारे टिप्पणी गर्दै उनले नयाँको ’जोस’ र पुरानाको ’होस’ मिल्दा मात्र देश बन्ने धारणा राखे ।

















