सुनसरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने नेपाल सरकारको निर्देशनअनुसार कोसी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेनाका फौज परिचालन गरिएको छ ।
गृह मन्त्रालयबाट प्रेषित “एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२” अनुसार २०८२ माघ २१ गतेदेखि प्रदेशभर नेपाली सेनाको परिचालन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेनालाई अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पुर्याउने, संवेदनशील क्षेत्र तथा महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ ।
साथै निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थाहरूमा छिटो प्रतिक्रिया दिई मतदाताको निर्बाध आवागमन सुनिश्चित गर्नुका साथै निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्नु यसको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।
निर्वाचनको एक महिना अगाडिदेखि सुरक्षा व्यवस्था थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेनाले सबै जिल्लामा अस्थायी बेस खडा गरी सैनिक गस्ती तथा आवश्यकताअनुसार संयुक्त गस्ती सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिनेछ ।
निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारण नागरिकलाई सबै सुरक्षा निकायसँग सहयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।

















