सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी ४ बाट पुरानै प्रतिष्पर्धीहरु नेपाली काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट जगदीश प्रसाद कुसियतले उम्मेदवारी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका महफुज अन्सारी र जनता समाजवादी पार्टीबाट सबिता यादव र रास्वपाबाट दीपक शाह पनि उम्मेदवार बनेका छन् । उनीहरूबिच नै तीव्र प्रतिस्पर्धा हुने भएको छ ।
अन्य केही स्वतन्त्र उमेद्धवार सहित यस क्षेत्रबाट ३४ जनाले उम्मेदवारी दिएका छन् ।
१ लाख ३७ हजार ३ सय ४० मतदाता रहेको सुनसरी ४ मा कोसी र भोक्राहनरसिंह गापालिकाको सबै वडा, वराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिकाको समान ६–६ वटा वडा पर्दछन् ।
यस्तै इनरुवा नगरपालिकाको ३ वटा वडा र राधुनी नगरपालिकाको १ वटा मात्र वडा समेटिएको सुनसरी ४ मा ४१ मतदान स्थल र १ सय ६० मतदान केन्द्र रहेका छन् ।
नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र हो, जहाँबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका स्वर्गीय गिरिजाप्रसाद कोइराला उदाएका थिए । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की पटक–पटक सत्ताको केन्द्रसम्म पुगे ।
राजनीतिक हिसाबले अत्यन्तै शक्तिशाली मानिने सुनसरी–४ ले तीन दशकमा देश हाँक्ने नेतृत्व त दियो, तर आफ्नै भौतिक र सामाजिक विकासमा भने अझै अपेक्षित फड्को मार्न सकेको छैन ।
बि.सं २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका स्वर्गीय गिरिजाप्रसाद कोइरालाले यही क्षेत्रबाट जित हासिल गरे । त्यसपछि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (हाल जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रो पटक विजयी भए ।
सत्ता, शक्ति र पहुँच भएका नेताहरूको निरन्तर प्रतिनिधित्व रहँदा पनि सुनसरी–४ का धेरै बस्ती आज पनि आधारभूत सुविधाको अभावसँग जुधिरहेका छन् । स्थानीयका अनुसार, हरेक निर्वाचनमा ठुला योजना र आश्वासन सहित आउने उम्मेदवार चुनाव सकिएपछि भने काठमाडौँ केन्द्रित राजनीति मै सीमित हुने गरेका छन् ।
प्रतिनिधिसभा मात्र होइन, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारले गरेका प्रतिबद्धता घोषणा–पत्रमै सीमित हुने गरेको गुनासो स्थानीयको छ । सडक सञ्जाल, सिँचाइ, रोजगारी, शिक्षा र स्वास्थ्य सेवा विस्तार जस्ता मुद्दा हरेक चुनावमा दोहोरिए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिन्छ ।
यस पटकको निर्वाचनमा पनि सुनसरी–४ का मतदाताले पुरानै भाषण र पुरानै वाचा दोहोरिएको महसुस गरेका छन् ।
ठुला दलका उम्मेदवार विकासको खाका बोकेर मैदानमा उत्रिए पनि स्थानीयको विश्वास जित्न भने चुनौतीपूर्ण देखिएको स्थानीयको भनाई छ ।
स्थानीयको पीडा भने नेताको भाषणभन्दा निकै फरक छ । वर्षौँदेखि सप्तकोसी नदीको कटानले सयौँ परिवार विस्थापित भएका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्कले खेतीपाती नष्ट हुँदै आएको छ । तर, दीर्घकालीन समाधान अझै देखिएको छैन ।
यसको लागि अहिलेसम्म कुनै नेताले प्रभावकारी काम गर्न सकेका छैनन् ।
शिक्षा र स्वास्थ्य सेवा पनि सुनसरी–४ का लागि पुरानै दुखाइ बनेको छ ।
उच्च शिक्षाका लागि इटहरी, धरान र विराटनगर धाउनुपर्ने बाध्यता कायमै छ । सामान्य उपचारका लागि समेत ठुला सहरको सहारा लिनुपर्ने अवस्था हट्न सकेको छैन ।
स्थानीयका अनुसार, सुनसरी–४ लाई विकासमा पछि पार्ने मुख्य कारण राजनीतिक अस्थिरता होइन, ‘प्रतिनिधिको प्राथमिकता’ हो । “देश चलाउने नेता जन्माउने ठाउँ” भनेर चिनिने यो क्षेत्र अझै पनि नेताका लागि सुरक्षित भोट बैंकमै सीमित भएको स्थानीयको ठम्याइ छ ।

















