विराटनगर । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले काँग्रेस भित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै घिमिरेले पार्टी सदस्यलाई रैती र पार्टीलाई जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृती बढेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनले लेखेका छन्, नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती,,पार्टीलाई निजी जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ।
उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न नसक्ने बताए । उनले भने, कसैले भन्दैमा यसको औचित्य सिद्धिँदैन।जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ।
उनले ७५ वर्षको इतिहास बोकेको र लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा स्वेच्छाचारिता र हुकुमी शासन हाबी भएको बताएका छन् । उनले भनेका विशेष महाधिवेशनको मागलाई तत्काल सम्बोधन गर्न माग राखेका छन् ।
घिमिरेले दलभित्र बिधि विहीनता र बेथितिले चरम रूप लिएको बताएका छन् । उनले भने, विशेष महाधिवेशनका मागकर्ता पार्टी सदस्यहरू माथि गरिएको बेवास्ता,चरम दुर्व्यवहार र पार्टी विधानको खुला उपहास तथा उल्लङ्घन हो।
नेता घिमिरेले महाधिवेशनको कागजी तालिका न्यूनतम रूपमा लागू समेत नगर्ने र स्वेच्छाचारी रूपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरूलाई सामान्य रूपमा अग्रिम सूचनासम्म नदिने प्रवृत्ति सर्वाधिक अलोकतान्त्रिक भएको बताए । उनले नेतृत्वको कामलाई तानाशाहीपूर्ण र यो भर्त्सनायोग्य भन्दै विरोध गरेका छन् ।
उनले पार्टीका सदस्यहरूले उठाएको धारणा अनुसार, कुनै पनि लोकतान्त्रिक संस्था सिद्धान्तले मात्र नभई आचरण र व्यवहारले सही प्रमाणित हुनुपर्नेमा काँग्रेस नेतृत्व त्यसमा चुकेको आरोप लगाए ।
नेता घिमिरेले नेपाली काँग्रेस विधिको शासनका लागि आठ दशक सङ्घर्ष गरेको पुरानो लोकतान्त्रिक पार्टी भएको स्मरण गराउँदै दलको राजनीतिक साख,प्रतिष्ठा र जना धार अरू दलको भन्दा उच्च एवं व्यापक रहेको बताए । उनले भने, यो अरुदल जस्तै औसत दल होइन भन्ने यथार्थको हेक्का पार्टी नेतृत्वले राख्न सक्नुपर्छ।

















