विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गरेको भन्द्र प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जनालाई पक्राउ गरिएको हो । 
पक्राउ परेकाहरू लेखापढी व्यवसायी हुन् । उनीहरू जिल्ला प्रशासन कार्यालय  र मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । लेखापढीका नाममा सेवाग्राहीलाई हैरानी दिएको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालले नियन्त्रणमा लिएकाहरू बिचौलिया भएको दाबी गरे । उनले भने,सेवाग्राहीलाई आफै काम गर्न नदिएको र पैसा मागेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । उनले भने, सेवा ग्राहीलाई दुख दिएको गुनासो आएपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ । ’ यसैबिच, लेखापढी व्यवसायीहरूले पक्राउको विरोध गरेका छन् । 
लेखापढी व्यवसायी संघ विराटनगरका अध्यक्ष कञ्चन न्यौपानेले प्रहरीले ज्यादती गरेको बताए । उनले आफूहरूलाई सरकारले नै काम गर्न अनुमति दिएर काम गरेको बताए । उनले भने, हामीलाई सरकारले नै  लेखापढीको व्यवसायीको लाइसेन्स दिएको छ । हामी मान्यता प्राप्त व्यवसायी हौ । अहिले कसरी बिचौलिया भयौ । न्यौपानेले व्यवसाय माथि ज्यादती गरेको बताए ।