विराटनगर । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि स्टेट नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिबार (आज)साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय भुपाल अधिकारी र नाम थर वतन नखुलेका करिब  २६ वर्षीय अर्का एक युवा रहेका छन् । दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।अस्पतालमा जाँचका क्रममा चिकित्सकले साँझ ६ः१५ बजे दुवै जनालाई मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ ।

मृतकहरूको शव अहिले सोही अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।