मोरङ । विद्यार्थीहरूका तर्क–क्षमता, भाषिक अभिव्यक्ति र विश्लेषणात्मक सोचको विकासलाई केन्द्रमा राख्दै चुडाकवि प्रतिष्ठानले यस वर्ष पाँचौँ जिल्ला स्तरीय वाद–विवाद प्रतियोगिता आयोजना गर्ने भएको छ। सामाजिक अभियन्ता चूडामणि न्यौपाने र कविता रेग्मी (न्याैपाने) (चुडाकवि)को प्रेरणामा स्थापना गरिएको प्रतिष्ठानले समाजमा सकारात्मक रूपान्तरण, असल आचरण र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित निरन्तर रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ। यसै क्रममा गत वर्षको चौथो संस्करणपछि यस पटकको प्रतियोगितालाई विस्तार र नवीनताका साथ आयोजना गर्न लागेका संस्थाले जनाएको छ।  
प्रतियोगिता आगामी माघ १६ गते बुढीगंगा–३, स्थित प्रतिष्ठान अन्तर्गत रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुल भवनमा आयोजना गर्ने जनाइएको छ। यस पटकको प्रतिस्पर्धा ‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ?’भन्ने विषयमा केन्द्रित हुने प्रतिष्ठानका महासचिव रिता न्यौपानेले जानकारी दिइन्  । 
उनका अनुसार, सहभागी विद्यार्थीहरूले पक्ष वा विपक्ष लिएर तर्क प्रस्तुत गर्नुपर्नेछ, जसले आधुनिक प्रविधि र मानव भविष्यप्रति युवा पुस्ताको बौद्धिक दृष्टिकोणलाई अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी मात्र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। प्रत्येक विद्यालयले एक जना प्रतियोगी विद्यार्थी, एक जना शिक्षक प्रतिनिधि तथा अधिकतम पाँच जना दर्शक विद्यार्थीसमेत पठाउन सक्ने बताइएको छ। विद्यालयहरूले आफ्ना प्रतिनिधि विद्यार्थीको नाम दर्ता पुस मसान्तभित्र प्रतिष्ठानको आधिकारिक इमेलमा पठाउन भनिएको छ। 
फाइनल चरणमा पक्ष र विपक्ष दुवै समूहका शीर्ष तीन–तीन विद्यार्थी तथा विद्यालयलाई ट्रफी, प्रमाणपत्र र आकर्षक नगद पुरस्कार प्रदान गरिने न्यौपानेले बताइन् । पहिलो स्थान प्राप्त गर्नेले पक्ष र विपक्षका दुवै तर्फ ५१ हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रो स्थानका विजेतालाई २१ हजार नगद पुरस्कार पाउनेछन्। 
सहभागिताका लागि तोकिएको रजिस्ट्रेसन शुल्क २ हजार एक सय तोकिएको छ।  प्रतियोगिताको प्रभावकारिता र निष्पक्षता सुनिश्चित गर्न प्रतिष्ठानले अनुभवी तथा स्थापित व्यक्तित्वहरूको निर्णायक मण्डल चयन गरेको छ। जसमध्ये सिस्नु पानी नेपालका सचिव तथा पाठशालाका व्याख्याता सरोज घिमिरे, लेखक तथा साहित्यिक सुविन भट्टराई र जनता बहुमुखी क्याम्पसका भेषजा काफ्ले निर्णायकका रूपमा रहनेछन्। उनीहरूले प्रस्तुति शैली, विषयवस्तुको गम्भीरता, तर्कसंगतता, भाषिक कौशल र खण्डन–मण्डन कौशललाई मूल्याङ्कनको आधार बनाउनेछन्।