सुनसरी– दोस्रो प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता माघ १ देखी ३ गतेसम्म हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा माघ १ देखी ३ गतेसम्म हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका ५ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । इटहरी रङ्गशाला परिसरको कवर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न उमेर समूह अन्तर्गत विभिन्न ४३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।
कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।
करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५० हजार र शिल्ड प्रदान गरिनेछ ।
दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् ।
उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही नगद ५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्लाका धेरै खेलाडीहरू बिच प्रतिस्पर्धा हुँदा क्षमतावान् खेलाडी निस्कने भएकाले गत वर्षदेखि सुरु भएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।















