विराटनगर । मोरङ क्षेत्र नं ६ र क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको लागि नाम सिफारिस भए पनि अन्य क्षेत्रमा सर्वसम्मत हुन नसके पनि आएको नामहरू पार्टीले सिफारिस गरेर पठाएको छ। आएका नामहरूलाई हेर्दा यस अघिको निर्वाचनमा उठेका अनुहारहरू नै सिफारिस भएको छ। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारहरूको नाम आजसम्म पार्टीले सिफारिस गर्न गरेको परिपत्रका आधारमा नेपाली काँग्रेसले मोरङका ६ वटै क्षेत्रको नाम सिफारिसको लागि सर्वसम्मतको प्रयास भएको नेपाली काँग्रेस मोरङ सचिव मोदराज घिमिरेले जानकारी दिए । मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्मा र क्षेत्र नम्बर ६ बाट शेखर कोइरालाको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।  क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा निर्वाचनका लागि डा. शेखर  कोइरालाको एकल नाम सिफारिस गरेको हो । मङ्गलवार बसेको नेपाली काँग्रेस क्षेत्रीय समितिको बैठकले कोइरालाको मात्र नाम सिफारिस गरेको जनाएको छ। 

क्षेत्रीय  सभापति देवराज तामाङका अनुसार, समानुपातिकमा पुरुष तर्फ रमेशजंग रायमाझीको एकल नाम सिफारिस गरेको छ । त्यस्तै समानुपातिक महिला तर्फ डा. डिला सङ्ग्रौला,रुक्मिणी कोइराला, डा.प्रमीला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सरिता थापा मगरको नाम सिफारिस गरिएको उनले बताए । यस्तै राष्ट्रिय सभाका लागि फेकन पासवान, जयप्रकाश सरदार, महेश जाजु,उमा घिमिरे, प्रभा आचार्यको नाम सिफारिस गरिएको  छ । 

यता, क्षेत्र नम्बर ४ तर्फ भने प्रतिनिधि सभा उम्मेदवारका लागि महेश आचार्य, गुरुराज घिमिरे, दिलीप गच्छदार, विनोद कुमार बस्नेत र दुर्गा भट्टराईको नाम सिफारिस भएको छ । आचार्य, घिमिरे र गच्छदार टेष्टेड अनुहार हुन्  । समानुपातिक तर्फ भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी,मनोज परियार, विजय माझी छन्  । समानुपातिक महिलाको पहिलो नम्बरमा इन्दिरा कार्की सहित सुची चौधरीको नाम सिफारिस गरिएको  क्षेत्रीय सभापति विनोद कुमार बस्नेतले जानकारी दिए ।  राष्ट्रिय सभा उम्मेदवारको नाम समेत सिफारिस गरेको छ। जसमा  सुबोध निरौला,सन्तनु रेग्मी,संगिता आचार्य,शशिकला श्रेष्ठको नाम सिफारिस गरिएको छ ।  

त्यस्तै क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ डिगबहादुर लिम्बु, खड्ग फागो र दिव्य बस्नेतको नाम सिफारिस भएको छ। समानुपातिकमा सिता कार्की र इन्दु चौधरीको नाम सिफारिस गरिएको छ। त्यस्तै राष्ट्रिय सभाका लागि ललित अधिकारीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति शङ्कर राईले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा डा मिनेन्द्र रिजाल, शिवनारायण सिंह गन्गाई र नारायणी पण्डितको नाम प्रत्यक्ष निर्वाचनको लागि सिफारिस गरिएको छ भनेँ समानुपातिकमा सुजाता कोइराला, र गोपालमान सिंह भण्डारीको नाम सिफारिस भएको छ। 

यता क्षेत्र नम्बर ५ मा भने विवादको कारण नाम सिफारिसले पूर्णता पाउन सकेको छैन । उम्मेदवारका आकाङ्क्षी धेरै हुँदा नाम सिफारिसमा समस्या भएको क्षेत्रीय सभापति जीवछ कुमार गच्छदारले जानकारी दिए ।  प्रत्यक्षमा ४ जना पुरुष र ४ जना महिलाको नाम आएको । प्रत्यक्षमा हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज रहिम र निर्मला सुवेदीको नाममा छलफल भएको । निर्मलाको नाम टुङ्गिएको भए पनि अरू नाममा अझै कुरा मिल्न सकेको छैन। त्यस्तै समानुपातिकमा कमला श्रेष्ठ, जस्मिन मण्डल, मिना मुर्मु र सुनिता मण्डलको नाममा छलफल भइरहेको उनले जानकारी दिए । त्यस्तै समानुपातिक पुरुषमा रामनारायण मण्डल, सुबोध कुमार सिंह र अर्जुन निरौलाका बिचमा छलफल भइरहेको भए पनि भोली मात्र नाम टुङ्गिने क्षेत्रीय सभापति गच्छदारले जानकारी दिए ।