सुनसरी । आगामी पुस ९ देखी विराट ट्रेड एक्स्पो २०८२ हुने भएको छ । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष अनुपम राठीले एक्स्पो बारे जानकारी दिएका हुन ।  यसपटक एक्स्पो विराटनगर १ जिल्ला प्रहरी कार्यालय नजिकको खुला चौरमा हुने  राठीले जानकारी दिए ।


आर्थिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा झल्काउँदै आर्थिक क्षेत्रलाई चलायमान बनाउने एक्स्पो गर्न लागिएको अध्यक्ष राठीले जानकारी दिए । 


एक्स्पोमा विभिन्न उत्पादनका करिब २ सय ३० वटा स्टल रहने छ । एक्स्पोमा करिब २ लाख सर्वसाधारणले आवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष राठीले बताए ।


 एक्स्पोमा स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन सँगै घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनसंगै यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटनलगायतलाई समेत समावेश गरिने उनले बताए ।


त्यसैगरी, एक्स्पोमा छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तानबाट समेत ब्यापारिक स्टल राखिनेछ । एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने बताइएको छ ।


त्यसैगरी, एक्स्पोलाई ब्यापारिक केन्द्रमा मात्र सीमित नराखी मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम समेत गरिने संघले जनाएको छ । यसपटक एक्स्पोमा कुमः सागर, रक हेड्स, कुटुम्वलगायतले मनोरञ्जन दिनेछन् ।