विराटनगर । नेपाली काँग्रेसले  प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट निवेदन लिएर गइरहँदा प्रतिनिधि सभाका  निर्वाचन क्षेत्रमा भने फागुन २१ गते हुने भनिएको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूका बिचमा चरम रूपमा रस्सा कस्सी चलिरहेको छ ।

नेपाली काँग्रेसको विधान अनुसार प्रतिनिधि सभा क्षेत्रीय समितिबाटै उम्मेदवारको नाम सिफारिस हुनु पर्ने व्यवस्था छ । 


विधानमा भएको व्यवस्था अनुसार आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि नेताहरू क्षेत्रीय समितिबाटै नाम सिफारिस गराउन यति बेला आफ्ना निर्वाचन क्षेत्रमा आउन थालेका छन् । निर्वाचन क्षेत्रमा आइ नपुगेका नेताहरूले प्रतिनिधि सभा क्षेत्रीय समिति र जिल्ला समितिमा रहेका नेताहरूलाई फकाउन थालेका छन् । 


जेन्जी आन्दोलन पछि पार्टी भित्र नयाँ पुस्ताले उम्मेदवार बन्नका लागि दबाब दिएका छन् । युवाहरूको पार्टी भित्रै दबाब बनेपछि यस अघि निरन्तर उम्मेदवार बन्दै आएका र निर्वाचन जित्दै आएकाहरूलाई नाम सिफारिसमै सकस भएको छ । नाम सिफारिसमा सकस भएपछि उनीहरू आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन् । 


नेपाली काँग्रेसको मङ्सिर १५ गते बसेको केन्द्रीय समिति बैठकले उम्मेदवारको नाम पठाउने कार्य तालिका बनाएको छ । सो कार्यतालिक अनुसार मङ्सिर २३ गते भित्रमा प्रतिनिधि सभा क्षेत्रीय समितिले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम जिल्ला समितिलाई सिफारिस गर्नु पर्ने छ । यस्तै जिल्ला समितिले मङ्सिर २६ गते भित्रमा प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गर्नु पर्ने कार्य तालिका रहेको छ । 


नेपाली काँग्रेस कोशी प्रदेश समितिका उप सभापति रमेशजङग रायमाझीले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने काम सुरु भएको बताए । 


उनले भने, ‘केन्द्रीय समितिले पठाएको सर्कुलर अनुसार प्रतिनिधि सभा क्षेत्रीय समितिको बैठक बसी नाम सफारीस गर्ने काम भइरहेको छ । तोकिएको समय सीमा भित्रै जिल्लामा नाम सिफारिस हुन्छ  । जिल्लामा आएको नामलाई प्रदेश समितिमा पठाइने छ । ’


केन्द्रीय समितिले पठाएको सर्कुलर अनुसार माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष ९पहिलो हुने निर्वाचन प्रणाली० र समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको नाम क्षेत्र र जिल्लाको बैठक बसी माथिल्लो समितिमा पठाउन निर्देशन गरिएको छ । 


बैठकमा उम्मेदवारको नाम  सर्वसम्मत नटुङ्गिए पार्टीको  विधानको धारा ३३ ९२० र धारा ६९  बमोजिम कम्तीमा एक जना महिला सहित तीन जनाको नाम सिफारिस गर्न सर्कुलरमा उल्लेख छ । 


क्षेत्रमा निर्वाचनमा उम्मेदवार कसरी बन्ने भनेर रस्सा कस्सी चलिरहेका बेला नेपाली काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेलगायतका नेताहरू प्रतिनिधिसभा पूनःस्थापनाको माग गरेर सर्वोच्च अदालत गएका हुन् । घिमिरेसँगै सचेतक सुशीला थिङ, दीपक खड्कालगायत पूनःस्थापनाको माग लिएर सर्वोच्च पुगेका हुन् । 


मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको एकल नाम सिफारिस 


आगामी निर्वाचनमा नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ प्रतिनीधि  सभा क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गरेको छ ।

उनी यस अघि पनि सोही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एमालेका भानुभक्त ढकाललाई हराउँदै प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित शर्मा विराटनगर स्थित नोबेल मेडिकल कलेज र काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत हुन् ।