विराटनगर । १६ दिने लैङ्गिक हिंसा अन्त्य अभियान सुरु भएको छ। विभिन्न सङ्घ संस्थाहरूले आफ्ना कार्यक्रमहरू लैङ्गिक हिंसा विरुद्धको अभियानमा केन्द्रित गर्न थालेका छन् । सोही अन्तरगत माइती नेपाल विराटनगरले डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम माइती नेपाल विराटनगर कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा विराटनगर–१२ र १३ का करिब २५ जना गृहिणी महिलाहरूको सहभागिता रहेको माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिए ।
माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले डिजिटल हिंसा, सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगी, व्यक्तिगत गोपनीयता संरक्षणका उपाय, तथा अनलाइनमार्फत हुन सक्ने सम्भावित बेचबिखनका बारेमा जानकारी गराएकी थिइन् ।
माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको उद्देश्य, महत्त्व, तथा १६ दिने अभियानको बारेमा जानकारी गराएका थिए । सहभागी महिलाहरूले आफ्ना अनुभव सहित अहिले भइरहेका समस्याको बारेमा चासो व्यक्त गरेका थिए । डिजिटल माध्यममा बढ्दो जोखिमप्रति सचेत रहनुपर्नेमा उनीहरूको जोड थियो ।

















