विराटनगर । पवित्र पृथ्वी समाजकाे ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
विराटनगर–३ पृथ्वी टोलमा रहेकाे संस्थाले नयाँ कार्य समिति समेत चयन गरेको छ। समाजका अध्यक्ष सरद पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बासुबहादुर बस्नेत उपस्थित रहेका थिए।
कार्यक्रममा अध्यक्ष पराजुलीले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभाबाट सर्वसम्मत रूपमा अनुमोदन गराइएको थियोे । साथै चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमहरू पनि अनुमोदन गरिएको छ।
उक्त अवसरमा समाजले दुबै मृगौला निष्क्रिय भई डायलसिस उपचार गराइरहेका गोविन्दप्रसाद फुयललाई नगद १० हजार ५ सहित सम्मान गरेको छ। त्यस्तै, पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै संस्थाको अक्षयकोष स्थापना गर्न १ लाख १११ रूपैयाँ प्रदान गर्ने पुष्पा पोखरेललाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले वडा नं. ३ मा समाजका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा सहयोगको हात बढाइने प्रतिवद्धता व्यक्त गरे। उनलेे वडाबाट संस्थाका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको बताउँदै, जेनजी आन्दोलनका कारण धेरै काम अघि बढाउन नसकिएको भए पनि आगामी दिनमा प्राथमिकताका साथ सामाजिक कार्यहरू अघि बढाइने बताए ।
साधारणसभाले चौथो कार्यकालका लागि सरद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद निराैला, महिला उपाध्यक्ष गीता सापकोटा धमला, सचिव भवानीप्रसाद चम्लागाईं, सहसचिव विनोदकुमार उपाध्याय खतिवडा, कोषाध्यक्ष कृष्णप्रसाद कट्टेल र सदस्यहरूमा टंकप्रसाद गुरागाईं, बुद्धिबहादुर थापा, बासु अधिकारी, गोपालबहादुर श्रेष्ठ, शर्मिला घिमिरे, शुसिला पोखरेल, मनिता थापा, चन्द्रा सुवेदी पराजुली र इन्दिरा गुरागाईं घिमिरे रहेका छन्।
समाजले आगामी वर्षमा रक्तदान कार्यक्रम, पृथ्वी मार्गको नामाङ्कन तथा चिनारीकरण र स्थानीय स्तरका सामुदायिक सुधार अभियानलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

















