विराटनगर । विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी गतिविधिहरू समेट्दै ‘जेसीज सप्ताह २०२५’ आयोजना गर्ने भएको छ। कात्तिक १६ देखि २१ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । यस अभियान अन्तर्गत विराटनगरका विभिन्न स्थानमा अर्थपूर्ण र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। कार्यक्रमको उद्घाटन नोभेम्बर २ (आइतबार) बिहान ७:३० बजे मैत्रीपूर्ण फुटसल प्रतियोगिता’बाट उद्घाटन हुनेछ। उद्घाटन कार्यक्रमको संयोजन  सनराइज चौधरीले गर्ने छन्। त्यसपछि हरेक दिन फरक–फरक सामाजिक कार्यक्रमहरू सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण, बाल सुधार गृह, विराटनगरमा मायाको कोसेली वितरण,  विराट बहिरा माध्यमिक विद्यालयमा कला कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। 

नोबेल अस्पताल, विराटनगरमा सडक सुरक्षा जनचेतना कार्यक्रमसहित रिफ्लेक्स लाइट वितरण, विराटनगर जेसीज सचिवालयमा कौसी खेती तालिम सहित होटल स्वागतम, विराटनगरमा ‘समापन तथा सम्मान कार्यक्रम’ गरिने विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले जानकारी दिए । जेसीज सप्ताह युवाहरूलाई नेतृत्व, सामाजिक जिम्मेवारी र सेवा भावनातर्फ प्रेरित गर्ने अभियान भएको आयोजकको दाबी छ। हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने साना तर प्रभावकारी कदमहरू लिँदै आएका छौँ, अध्यक्ष दाहालले भने। मुख्य कार्यक्रम संयोजक तथा जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले एक साताभरि सञ्चालन हुने यी गतिविधिहरूले जेसीजको सामाजिक प्रतिबद्धता र सामुदायिक सहकार्यको सन्देश फैलाउने लक्ष्य राखिएको बताए ।