सुनसरी । जेनजी आन्दोलनको क्रममा आगजनी,तोडफोड र लुटपाटमा कोशी प्रदेश सरकार अन्र्तगतका कार्यालयमा ७७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा कोशी प्रदेश सरकार र सो मातहतका सरकारी कार्यलयहरुमा सो बराबर क्षति पुगेको हो ।
कोशी प्रदेश सरकारले गठन गरेको क्षति अध्ययन तथा मूल्यांकन समितिले तयार पारेको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा कुल ७६ करोड ९५ लाख २७ हजार बराबारको क्षति भएको छ । उल्लेखित क्षति मध्ये सबैभन्दा बढि हिस्सा सवारी साधानको रहेको छ ।
मूल्यांकन समितिले तयार पारेको प्रतिवेदन अनुसार प्रदेश सरकार अन्र्तगतका निकायहरुका दुई सय ६५ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको छ । जसबाट कुल ४१ करोड ५२ लाख ९४ हजार १४९ रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षति कुल क्षतिको करिब ५४ प्रतिशत हो ।
यस्तै आन्दोलनका क्रममा सरकारी भवन, सवारी साधन, फर्निचर, कम्प्युटर सहितका उपकरणमा ठूलो क्षति पुगेको थियो । ५० वटा भवनमा आगजनी र तोडफोड हुँदा १८ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
प्रतिवेदन अनुसार कम्प्युटर, प्रिन्टर, एसी, फ्रिज आदि उपकरणमा मात्र १० करोड ५१ लाख ८५ हजार सात सय ८७ रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै फर्निचरमा चार करोड ३१ लाख भन्दा बढिको क्षति भएको छ ।
सूचना प्रणालीमा सर्भर कम्प्युटर, राउटर, टेलिफोन, साउण्ड सिस्टम, माइक्रोफोनमा एक करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबर क्षति हुँदा ग्यास चुलो, सिलिण्डर, पर्दा, बिजुलीको तार आदिको ४१ लाख ७८ हजार बढिको क्षति भएको छ ।
समितिले तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले सिनियर डिभिजनल ईञ्जिनियर बिनम दाहालको नेतृत्वमा गठन गरेको समितिले मुख्यमन्त्री कार्यालयमा तोडफोड र आगजनी हुँदा १५ करोड ६२ लाख ३० हजार सात सय ५५ रुपैयाँको क्षति भएको छ । त्यसमध्ये कार्यालय मातहतका भवनहरूको पुनर्निर्माणका लागि मात्र दुई करोड ७८ लाख २३ हजार १४५ रुपैयाँ लाग्ने अनुमान गरिउको छ ।
मोरङमा मात्रै दुईसय ३७ वटा सवारी साधनमा ४० करोड ८६ लाख ७७ हजार ४६२ रुपैयाँ बराबरको क्षति भएको छ । झापामा ६० लाख ४१ हजार र सुनसरीमा पाँच लाख ७५ हजार बराबरको सवारी साधनमा क्षति पुगेको तथ्यांकले देखाएको छ ।
 
                     
                            
                                                             
        





 
        










