सुनसरी । सुनसरीको झुम्का कारागारबाट भदौ २३ गते राति भागेका १ हजार ५ सय ७५ जना कैदी बन्दी मध्ये ७ सय ६६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए ।
दिनभर शान्त रहेको कारागार राती एकाएक तनावग्रस्त बनेको थियो । आन्दोलनका कारण उक्त दिन दिउसो देशभरका कारागारबाट कैदी बन्दी भागेको थाहा पाएपछि झुम्का कारागारका कैदी पनि आन्दोलनकारीको सहयोगमा फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार उक्त दिन सुरुमा राती साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० को हाराहारी कैदी भागेका थिए ।
प्रहरी प्रशासन विस्थापित भैसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले पछि १ हजार ५ सय ७५ जना भाग्न सफल भएका थिए ।
त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो । अहिले कारागारमा १ हजार १० जना मात्र कैदी बन्दी रहेको कारागारका सूचना अधिकारी राम निरौलाले जानकारी दिए ।
उनका अनुसार फरार भएका ७ सय ६६ कैदी अझै सम्पर्क बाहिर रहेकोले आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरिएको छ ।
प्रहरी प्रशासनले पनि खोजी अभियान चलाएको जनाएको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक छन् ।
दुवै ब्लकमा १ हजार सात सय ९९ जना कैदी रहेका थिए ।
ती मध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।