सुनसरी । सुनसरीको झुम्का कारागारबाट मङ्गलवार राति भागेका एक हजार ५ सय ७५ जना कैदी बन्दी मध्ये १ हजार २ सय ९७ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनका क्रममा मङ्गलवार राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए ।
दिनभर शान्त रहेको कारागार राती एकाएक तनावग्रस्त बनेको थियो । आन्दोलनका कारण मङ्गलवार दिउसो देशभरका कारागारबाट कैदी बन्दी भागेको थाहा पाएपछि झुम्का कारागारका कैदी पनि आन्दोलनकारीको सहयोगमा फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार मङ्गलवार राती साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० को हाराहारी कैदी भागेका थिए । प्रहरी प्रशासन विस्थापित भैसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले १ हजार ५ सय ७५ जना भाग्न सफल भएका थिए ।
त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो । अहिले कारागारमा ४ सय ९९ जना मात्र कैदी बन्दी रहेको कारागारका जेलर सुवास कुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार फरार भएका कैदीका आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरिएको छ ।
प्रशासनले पनि खोजी अभियान चलाएको जनाएको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९९ जना कैदी रहेका छन् ।
ती मध्ये ३ जना अस्पतालमा उपचाररत रहेको जेलर लामिछानेले बताए ।