सुनसरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा अहिले मन्त्री फेरबदल नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रयास गरिरहेको अवस्थामा विराटनगरमा शनिवार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले मन्त्री फेरबदल नहुने बताउनु भएको हो ।
 सुनसरीको भोक्राहनरसिंह गाउपालिकामा करम पुजा समारोहमा सहभागी हुन आउनेक्रममा सभापति देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक भएकोले दलहरूबिच सहमति नहुन्जेल संविधान संशोधन प्रक्रिया अघि बढ्न नसक्ने बताउनु भएको छ । 
संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिने र त्यसका लागि सबै दलसँगको सहमति चाहिने भन्दै सभापति देउवाले त्यो अवस्था अहिले नभएको टिप्पणी गर्नुभयो। दलहरूसँग कुरा भइरहेको भन्दै सभापति देउवाले सहमति भएपछि संविधान संशोधन हुन पनि सक्ने बताउनुभयो । तत्काल अहिले नै संविधान संशोधनको अवस्था नभएको सभापति देउवाको भनाई थियो ।
सामाजिक सञ्जाल प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतले पनि दर्ता गराउन भनेको मात्रै रहेको र बन्द नगरिएको भन्दै सभापति देउवाले सरकारको बचाउ गर्नुभयो । पार्टी महाधिवेशनको विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले समय आएपछि सबै कुरा हुने बताउनु भएको छ । 
पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति राजनीतिमा आउन हुन पाउने वा नपाउने विषयमा संविधानले केही नबोलेको हुनाले यस विषयमा आफूले केही भन्न नसक्ने देउवाको भनाई छ ।