सुनसरी– भारतसँग ६१ किलोमिटर सीमा जोडिएको सुनसरीको श्रीपुर नाकामा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टले स्थापनाको १२ बर्सपछि भवन पाएको छ ।
मन्त्री परिषद्को २०७० साल असार ७ गतेको बैठकबाट उक्त बोर्डर आउट पोस्ट स्थापना गरेको थियो ।
स्थापनाको लामो समयसम्म कमजोर संरचना रहेको पोष्टमा १२ बर्सपछि बनाइएको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गणको आयोजना भएको समारोहमा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनी पति तथा डिआइजी कुमार न्यौपाने उक्त भवनको उद्घाटन गरेका हुन् ।
१ करोड ४६ लाख रुपैयाँमा निर्माण भएको उक्त भवनबाट सीमा क्षेत्रबाट हुने चोरी तस्करी, भन्सार छली र सीमाको सुरक्षाको लागि काम गर्न थप सहयोग पुग्ने ४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सीमाको निगरानी र सीमावासीको सुरक्षाका लागि सशस्त्र प्रहरीले कोसी प्रदेशका ४८ वटा बोर्डर आउट पोस्टबाट ६८९.३ किलोमिटर सीमाको रक्षा गरिरहेको छ ।
६१ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको सुनसरीमा दुई वटा सीमा गुल्म र ९ वटा सीमा आउट पोष्ट रहेका छन् । ती स्थानमा २ सय ५० जना सुरक्षाकर्मी खटिएका छन् ।
पर्याप्त जनशक्तिको अभावमा पनि भन्सार चोरी निकासी पैठारी र आपराधिक क्रियाकलाप शून्य सहनशीलताको नीति अवलम्बन गरिरहेको एसपी थापाले जानकारी दिए ।
सीमा क्षेत्रमा एउटा आउट पोष्टबाट अर्को आउट पोष्टको दुरी साढे ६ किलोमिटर टाढा पर्ने भएकाले सीमा सुरक्षामा चुनौती थपिएको थापाको भनाई छ ।