विराटनगर । कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश र जनताको अधिकार लिन सिंहदरबार घेराउ गर्ने  अवस्था आउने चेतावनी दिनुभएको छ ।

कोसी प्रदेश सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मुख्यमन्त्री कार्कीले संघीय सरकारसँग अधिकार लिन नसकेर लाचार हुन नहुने तर्क गर्नुभएको हो ।

प्रदेश सभाको शून्य समयमा बोलेका सवालहरूको सुनुवाइ नभएको भन्दै कार्कीले प्रदेश सकारको आलोचना गर्नुभयो । लागूऔषध रोकथाम र प्रयोगकर्ताका लागि छुट्टाएको रकम कार्यकर्तालाई बाँड्न प्रयोग गरेकै कारण कोसी प्रदेश लागूऔषधको हब बन्दै गएको कार्कीको भनाइ छ ।

कोसी प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । तर नेपाली काँग्रेसकै नेता भए पनि कार्कीले सरकारको आलोचना गर्दै आउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेश प्रसाद उप्रेतीले भारत र चीनले लिपुलेकबाट दुई देशले व्यापार गर्ने सहमति गरेर नेपालको सीमा मिच्ने काम भएको बताउनु भयो ।

प्रदेश सभामा विशेष समय लिएर बोल्दै उप्रेतीले नेपालको संविधानलाई अस्वीकार गर्दै सीमा मिच्ने काम गरे पनि सरकारले कुनै आवाज नउठाएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

नेपाली धर्ती लिपुलेकबाट बाटो खन्ने काम सच्याउने प्रतिबद्धता भारत र चीनबाट नआएसम्म प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई दुवै देशको भ्रमण नगर्न उप्रेतीले सुझाव दिनुभएको छ ।

कोसी प्रदेश प्रदेश सभाको शून्य समयमा बोल्ने प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभा सदस्य गोम्बु शेर्पाले प्रहरी समायोजनमा सरकारले चासो नदेखाएको आरोप लगाउँदै प्रहरी समायोजनको विषयमा सरकारको स्पष्ट धारण माग गर्नुभयो ।

अर्की प्रदेश सभा सदस्य सपना दर्जीले वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न स्पष्ट नीति र कानुन बनाउन सरकारसँग माग गर्नुभयो ।

प्रदेश सभा सदस्य लखी कुमारी गणेशले भन्सार नाकामा सुरक्षाकर्मीले अनावश्यक धरपकड र दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । घरायसी प्रयोजनका सामग्री ल्याउँदा पनि प्रहरीले ज्यादती गरेको, पैसा असुल्ने गरेको भन्दै गणेशले प्रहरीको ज्यादती अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो । अर्की प्रदेश सभा सदस्य साविना बजगाईँले लागू औषध दुर्व्यसनमा युवाहरू फस्दै गएको जानकारी दिनुभयो ।

खुला सीमाका कारण निर्बाध रूपमा लागू औषध भित्रिई रहेको र ठुला दलका स्थानीय नेता कार्यकर्ता लागू औषध कारोबारमा संलग्न भएकै कारण लागू औषध दुर्व्यसनको छालो फैलिँदै गएको बजगाईँले बताउनु भयो ।