विराटनगर । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न ट्रेड युनियन, संघ–संस्था र स्थानीय सरकारको सक्रियताबिना सम्भव नहुने वक्ताहरूले बताएका छन्। शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा विराटनगरमा सम्पन्न अनौपचारिक श्रमिक र सामाजिक सुरक्षाः अवस्था, अवसर र चुनौती विषयक परामर्श कार्यक्रममा श्रमिकहरूको पहुँच सुनिश्चित गर्न प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको हो।
सामाजिक सुरक्षा कोष विराटनगरका प्रमुख दिपकराज भट्टले हालसम्म अनौपचारिक क्षेत्रका ७७९ जना मात्र श्रमिक कोषमा आबद्ध भएको जानकारी दिँदै अझ धेरै श्रमिकलाई योजनामा ल्याउन प्रचार–प्रसार र प्रक्रियालाई सहज बनाउनुपर्ने बताए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रदेश अध्यक्ष टीका प्रसाईं, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय उपमहासचिव उपेन्द्र राय, जिफन्ट विराटनगर महानगर कमिटिका उपाध्यक्ष गोविन्द कामत, साथै प्रतिनिधि कुमार कोईराला र सुरेश भगतले श्रमिक अधिकार र सामाजिक सुरक्षा विस्तारबारे आ–आफ्ना धारणा राखे।
त्यस्तै, गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा र ईन्सेकका मनोहर पोखरेलले श्रमिकहरूको जीवनस्तर उकास्न स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिए। ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनौपचारिक श्रमिकको हितका लागि पालिकाले उपयुक्त कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले ट्रेड युनियन, स्थानीय सरकार, सामाजिक सुरक्षा कोष, श्रमिक र सरोकारवालाबीच दीर्घकालीन सहकार्यको आधार निर्माण गर्ने उद्देश्य लिएको कोक्यापका कार्यक्रम अधिकृत प्रकाश परियारले जानकारी दिए। कार्यक्रम कोक्याप प्रदेश समिति सदस्य प्रा.डा. राजनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।