विराटनगर ।  सप्तकोसीमा बेपत्ता भएकी धरानकी १९ वर्षीय अनिता राईको शव फेला परेको छ। शुक्रवार वराहक्षेत्र मन्दिर दर्शन गर्न गएका बेला सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी थिइन्। उनका बुबा जीवन राईसँग मोटरसाइकलमा गएकी अनिता दर्शन सकेर फर्कँदै गर्दा चतराको दुधपानी खोला तर्ने क्रममा खोला बगेर ५० मिटर तल सप्तकोसीमा पुगेकी थिइन्।  दुवै जनालाई खोलाले बगाएको भए पनि उनका बुबा जीवन राईलाई स्थानीयले तत्काल उद्धार गरेका थिए ।तर अनिता बेपत्ता भएकी थिइन्। आइतबार बिहान उनको  शव वराहक्षेत्र–९, राजाबासको कोसी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले  जानकारी दिए । शवको सनाखत गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।